गायिका रुपा रौतारको एकल स्वर रहेको एल्बम ‘हिम्मत भाकी छोरी’ सार्वजनिक गरिएको छ। वरिष्ठ कलाकार हरिवंश आचार्यसहित संगीतकार सुरेश सेन्चुरी र समाजसेवी विकाश घिरैयाले एल्बम एकसाथ विमोचन गरेका थिए।
सानोमा आफ्नो दुवै हात गुमाएकी रुपाद्वारा स्वरबद्ध एल्बममा ६ गीत समावेश छन्। गीतमा रुपाको एकल स्वर रहेको छ भने सुरेशले एकल संगीत दिएका छन्। गीतहरुमा सरला गह, तेजप्रसाद पाण्डे, रोजिना थापा, डाक्टर कृष्ण हरि बराल, दिनेश खड्कासँगै संगीतकार सुरेश सेन्चुरीको पनि शब्द रहेको छ।
कार्यक्रममा निर्माण भएको दुई भिडियो पनि देखाइएको थियो भने मेरी आमा बोलको गीतलाई रुपाले लाइभ गाएकी थिइन्। उनको गायकीलाई उपस्थितले तारिफ गरेका थिए। ‘लेख्दै छु’ बोलको गीतमा प्रविन खड्काको छायांकन, प्रेम नेपालीको सम्पादन र यम पुनको निर्देशन रहेको थियो।
सार्वजनिक शीर्ष गीत ‘हिम्मत भाकी छोरी’लाई ज्ञानेन्द्र शर्माले खिचेका हुन्। यसमा भरत रेग्मीको सम्पादन, सुबोल थापाको कोरियोग्राफी र सुव्रतराज आचार्यको निर्देशन रहेको छ। कार्यक्रममा अभिनेता प्रमोद अग्रहरी, निर्देशक मनोज पण्डित, संगीतकार राजु सिंह, गायिका एन्जिला रेग्मीको उपस्थिति रहेको थियो।