घरमा बाआमासँग सम्पर्क थिएन । होस्टल बसेको एक वर्ष भइसकेको थियो । त्यति बेला केही मानिससँग बा आउनुभएको रहेछ, मलाई भेट्न । सोनी गेस्टहाउसका मानिसमार्फत घरकाले थाहा पाएका रहेछन्। ९ कक्षामा भर्ना हुँदाको कुरा हो, आमाकी जेठी दिदीका छोरा गोरे झाँक्री दाइ (हाल बेलायतमा) कोठामा आउजाउ गरिरहन्थे । उनी धेरै समयसम्म आएनन् । मनमनै सोच्थेँ– किन आएनन् होला दाइ? तर सोध्ने मान्छे हुन्थेनन् । धेरै दिनपछि उनी झुल्किए ।
‘दाइ कहाँ जानुभएको थियो र यत्रा दिन, आउनुभएन त,’ मैले सोधेँ । ‘एउटा कामले गाउँ गएको थिएँ, गाउँबाटै उतै छ्यामाको सुद्धाइँमा पनि गएर आएँ,’ उनले सहजतापूर्वक भने । उनको गाउँ बिम गाविस (अहिले धौलागिरि गाउँपालिका) हो । छ्यामा शब्दले म झस्किएँ । उनी मेरी आमालाई पनि छ्यामा भन्छन् । ‘को छ्यामा....?’ आमाका अरु नै दिदीबहिनीको कुरा गरेको हो कि जस्तो पनि लाग्यो । आमा बितेको मलाई छनकसम्म थिएन । उनले आश्चर्यभावले भने, ‘ल आमा बितेको थाहा थिएन र तँलाई ?’ म झसङ्ग भएँ । ‘अहँ मलाई थाहा छैन,’ मैले भनेँ, ‘कहिले ? दाइ चैत–वैशाखतिर मेरो कोठामा आएका थिए ।
उनले पुस २८ गते किरिया भएको बताए । मैले हिसाब गरें, कहिले बित्नुभएको रहेछ भनेर । मेरो गाउँमा मगरजातिको बाहुल्य भए पनि धेरै संस्कार हिन्दू धर्मअनुसार गरिन्छ । किरिया पनि १३ दिनसम्मै गरिन्छ । हरे, कस्तो अचम्म ! कस्तो विडम्बना ! म यता आफ्नो जीवनकै पहिलो एल्बमको गीत रेकर्ड गराइरहेको थिएँ । जीवनकै सफलताको दिन महसुस गरिरहेको थिएँ ।
उता घरमा आमा अन्तिम सास फेरिरहनुभएको रहेछ। उफ्...... हे भगवान्..... मलाई कसैले खबर गरेन । खबर गर्नुपर्छ भनेर कुरा पनि चलेको रहेछ । तर कसैले भनेछ, ‘भो, ऊ कहाँ छ, के गरिरहेको छ, कस्तो अवस्थामा छ, थाहा पायो भने झन् उसको मन दुख्ला, मन बिग्रेला, खबर नगरौं ।’ त्यस्तो अवस्थामा छाडेर आएको आमाको अन्तिम अनुहार पनि हेर्न पाइनँ ।अन्तिम अवस्थामा मलाई के भनेर खोज्नुभयो होला आमाले ?
मन कति रोयो होला आफ्नो छोराको अनुहार पनि हेर्न नपाउँदा ? एक मनले आमालाई छाडेर किन आइछु, घर छाडेर हिंड्नाले त्यति धेरै हन्डर खानुपर्याे, घरमै बसेको भए आमाको कोखबाट जन्मिएको थिएँ र आमाकै काखमा बसेर आमासँगै मर्न पाइन्थ्यो कि भनेर पनि सोचें ।
०००
पुस महिना मेरा लागि दुःखको भन्ने कि सुखको ? मेरो जन्म पनि पुस २५ गते । म भीरबाट लडेको पनि पुस ८ गते । मेरो पहिलो एल्बम रेकर्ड भएको पनि पुसमै । अनि मलाई सबैभन्दा बढी माया गर्ने मेरी आमा बितेको पनि पुस महिनामा । हिसाब गरें– २८ पुसमा किरिया गरेको भनेपछि आमा पुस १५ गते बित्नुभएको रहेछ । त्यही दिन म म्युजिक नेपालको आधुनिक स्टुडियोमा गीत गाउँदै थिएँ । पहिलो गीत रेकर्ड गर्न पाउँदा मेरो खुसीको सीमा नै थिएन ।
नदेखे, नसुनेसम्म मान्छेलाई जतिसुकै ठूलो र हृदयविदारक चोटले पनि नदुख्दो रहेछ, नपोल्दो रहेछ । आमा बितेको थाहा पाएको भए म त्यसरी गीत गाउने अवस्थामा हुने थिइनँ । आमा मराङको फामु्रक भन्ने ठाउँमा बित्नुभएको अरे । म गीत रेकर्ड गराउँदैं गर्दा आमा चोयाले बुनेको भकारीले छाएको गोठमा उन्युको सोत्तरमाथि अन्तिम सास फेर्दै हुनुहँुदो रहेछ । त्यति बेला बुबा भेडीगोठमा हुनुहुन्थ्यो रे ।
आमा बितेको थाहा पाएपछि आफ्नो परम्परा र संस्कृतिअनुसार काजकिरिया गर्नुपर्ने हो तर म त्यतिखेर त्यो अवस्थामा थिइनँ । जहाँ म थिएँ त्यहाँको वातावरण अर्कै थियो । हुन त त्यहाँ धर्मको कुनै बन्देज थिएन । फादर स्वयम्ले हरेक वर्ष दसैंमा नयाँ कपडा दिनुहुन्थ्यो । ठूलो जमघट हुन्थ्यो, फादरको हातबाट टीका थाप्न । तर आमाको किरिया मगरहरुको संस्कारअनुसार गर्नुपथ्र्यो । त्यो सबै विधि पुर्याउन सक्दिनथें म । मैले आमाको किरिया नगरेको अहिलेसम्म न बालाई भनेको छु न त श्रीमतीलाई । मैले धर्म परिवर्तन गरेर किरिया नगरेको होइन । म धर्मनिरपेक्ष मान्छे हुँ, विज्ञानसम्मत कुरालाई मात्र धर्म मान्छु । धर्म भनेको वस्तुगत र व्यावहारिक हुनुपर्छ ।
मैले त्यति बेला दुई कारणले किरिया गरिनँ । एउटा कारण परिस्थितिजन्य कठिनाइ हो । अर्को, धेरै पहिला हामी बेलुकी सबै जना जम्मा भएर बटुकामा खोले–सिस्नु खाइरहेका हुन्थ्यौं । त्यति बेला आमा भन्नुहुन्थ्यो, ‘अब छोराहरु ठूला हुँदै छन्, हामीले यो खोले–सिस्नु खाएर बस्ने दिन धेरै नहोला ।’ आमाको आशय अब छोराहरु ठूला भएर लाहुर जालान् अनि हाम्रा दुःखका दिन सकिएलान् भन्ने थियो । जब आमा बित्नुभयो, मेरो दिमागमा ती कुरा फनफनी रिङ्न थाले । मन पोलिरह्यो । किनभने आमाको सपना थियो– खोलेफाँडो खाने दिन सकिएलान् । अलि सम्पन्न जीवन बिताउन पाइएला । मीठोमसिनो खाने दिन आउला । टालेको गुन्युको ठाउँमा नयाँ फेर्न पाइएला । प्वाल परेको टेकीको ठाउँमा नयाँ फेरिएला ।
म भीरबाट लडेपछि आमाका ती सपना पूरा गर्न सकिनँ । उहाँका लागि केही नै गर्न सकिनँ । अहिले आमा बित्नुभयो । एक प्रकारले मरेको मान्छे निर्जीव रुपमा परिणत हुन्छ । जसको अस्तित्व नै छैन त्यसको नाममा जिउँदो मान्छेले दुःखपूर्वक कर्मकाण्ड गरे पनि त्यो निरर्थक हुन्छ ? दुनियाँभरको दानदक्षिणा किन गर्नु ? जिउँदो मान्छेले नुन नखाएर किन सास्ती बेहोर्नु ? यो मेरो व्यक्तिगत सोच हो ।
आमालाई जिउँदो छउन्जेल हँसाउन सकिनँ । आफ्ना नाममा दानदक्षिणा गरेको आमाले कतैबाट देख्ने भए पनि गाली गर्नुहुन्थ्यो होला । ‘ए, खबरदार, तैंले मलाई जिउँदो हुन्जेल केही गरिनस्, चोलोसमेत फेरिदिइनस्, अहिले मरेपछि किन स्वाङ पार्छस्’ भन्नुहोला भन्ने डर पनि लाग्यो । यस्ता विभिन्न कुरा मनमा खेलाउँथें । आमा र बा मेरा सबैभन्दा ठूला भगवान् हुन् । भगवान्ले सन्तानलाई आशीर्वाद दिने र रक्षा गर्ने हो । सन्तानले भगवानकाे अन्तर्मनले पूजा र सम्मान गर्ने हो । मैले त्यही गरिरहेको छु । अरु फजुल काम र खर्च गर्न आवश्यक देख्दिनँ ।
आमाको निधनको खबर फादर र होस्टल इन्चार्जलाई सुनाएँ । उहाँहरुले तिम्रो परम्पराअनुसार किरिया गर भन्नुभयो। तर, त्यहाँ परम्परा धान्न सम्भव थिएन। किनभने मगरहरुको मृत्यु–संस्कारमा कुटुम्ब चाहिन्छ र काम सुरू गरेपछि उम्कँदा छोरीहरुले गहुँत छर्कनुपर्छ। मैले कहाँ खोज्न जानु छोरी? कहाँ खोज्नु कुटुम्ब?
आमाको नाममा किरिया गर्न नपाएकोमा पछुतो छैन । मैले आमालाई अन्तरात्माले सम्झने हो । सम्झेकै छु । हरेक बिहान म आमाबाट आशिष लिएर मात्र निस्कन्छु । कुनै काम गर्नुपर्दा आमालाई सम्झन्छु । यही होइन र आमाप्रतिको सच्चा श्रद्धाञ्जली ?
आमालाई कहिलेकाहीँ सपनामा देख्छु । तर, कुन अवस्थामा के गरिरहेको भन्ने सम्झन्नँ । कहिलेकाहीँ डोको बोकेर हिँडिरहेको देख्छु । मलाई याद छ, म सानो थिएँ । घरको अलिक तलपट्टि उकालोमा हिँडिरहेका बेला उहाँ लड्नुभयो । नलीहाड ढुङ्गामा घोटिन पुग्यो । छाला खुइलिएर रातो भएको थियो । कहिलेकाहीँ आमालाई त्यस्तै घाइते अवस्थामा देख्छु । कहिलेकाहीँ प्यारालाइसिस भएको अवस्थामा पनि देख्छु । तर मसँग दोहोरो कुरा गरेर मेरो किरिया किन गरिनस् भनी गाली गर्नुभएको छैन ।
(घोष्ट राइटिङ नेपालद्वारा प्रकाशित पुस्तक मोडिएको बाटोको एक अंश)