७० वर्षअघि स्थापना भएको मुम्बईको ख्यातिप्राप्त ऐतिहासिक आरके स्टुडियो बिक्री गरिने भएको छ । गत वर्षको भीषण आगलागीले स्टुडियोको एक ठूलो भाग क्षतिग्रस्त भएपछि कपुर परिवारले स्टुडियो बिक्री गर्न लागेको हो ।
बलिउडमा शोम्यानका रुपमा चर्चित राजकपुरले सन् १९४८ मा मुम्बईको उपनगरीय क्षेत्र चेम्बुरमा यो स्टुडियो स्थापना गरेका थिए । राजकपुरमा कयौं फिल्म यही स्टुडियोमा निर्माण भएका थिए । पुनर्निर्माण गर्न आर्थिक हिसाबले व्यवहारिक नभएपछि बिक्री गर्न लागिएको कपुर परिवारले जनाएको छ ।
परिवारका तर्फबाट ऋषि कपुरले बिक्रीको यो निर्णयले कपुर परिवार निकै भावुक भएको उल्लेख गर्दै छातिमा ढुंगामा राखेर यसो गर्न बाध्य भएको बताए ।
गतवर्ष १६ डिसेम्बरमा ‘सुपर डान्सर’ को सेटमा आगो लाग्दा भुईं तल्ला जलेको थियो । अभिनेता ऋषि कपुरले आधुनिक प्रविधिसहित स्टुडियो फेरि तयार गर्नुपर्ने विचार राखेका थिए । तर उनका दाइ रणधिर कपुरले यो व्यवहारिक नहुने बताएपछि बिक्री गर्ने निर्णय गरिएको हो ।
आरके स्टुडियोको ब्यानरमा आग, बरसात, आवास, श्री ४२०, जिस देश में गंगा बहती है, मेरा नाम जोकर, सत्यम शिवं सृुन्दरम्, राम तेरी गंगा मैलीलगायत बनेका थिए । आरके व्यानरमा बनेको अन्तिम फिल्म ‘आ अब लौट चले’ को निर्देशन ऋषि कपुरले गरेका थिए । सन् १९८४ मा राजकपुरको निधनपछि यसलाई उनका जेठा छोरा रणधिर कपुरले सम्हालेका थिए ।