महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात खण्डकाव्य ‘मुनामदन’को कथामा आधारित नाटकको बुधबारदेखि मञ्चन शुरु भएको छ।
शिल्पी थिएटरमा पहिलो दिनमै दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। आदर्श साहित्य मञ्च विराटनगरले शुरु गरेको नाटक भदौ २६ गतेसम्म मञ्चन हुदैछ। हरेक साँझ ५ः३० बजे मञ्चन गरिने नाटक शनिबार भने अतिरिक्त अपराह्न १ बजे पनि देखाइनेछ ।
केन्द्रमा मात्र नभएर मोफसलमा पनि सशक्त कलाकार रहेको उदाहरण दिन नाटकलाई काठमाडौँमा मञ्चन गरिएको आयोजक विराट आदर्श साहित्य मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदित बताउँछन्।
‘मुनामदन’को नाट्य रुपान्तरण तथा संवाद लेखन युवा साहित्यकार कटवाल दीपकले गरेका छन्। नाटकमा मदनको भूमिकामा निर्देशक सबिन कट्टेल तथा मुनाको भूमिकामा दीपा पोखरेल छन्।
अन्य कलाकारमा मदनकी आमाको भूमिकामा सुष्मा निरौला, दिदीको भूमिकामा पवित्रा खड्का, ठूलेको भूमिकामा लकेश राई र गगनेको भूमिकामा एन्जन पौडेल छन्। त्यस्तै सरिता ढुङ्गाना, सञ्जीव राई, जिना राईलगायत कलाकारको भूमिका रहेको छ।
आफ्नो मृत्युअघि देवकोटाले ‘म मरेपछि मेरा सबै कृति जलाइदिए पनि मुनामदन चाहिँ नजलाउनू’ भनेबाट पनि यसको महत्व प्रष्ट हुन्छ। साझा प्रकाशनबाट प्रकाशन कृतिमध्ये सबैभन्दा बढी बिक्ने पुस्तक मुनामदन नै हो।