‘लम्फू’ बाट डेब्यु गरेका अभिनेता कबिर खड्का चलचित्र ‘तिमी र म’ मा अनुबन्ध भएका छन्। फिल्मका लागि नायक कबिर खड्कासँगै अभिनेत्री सूर्या थापालाई पनि अनुबन्ध गरिएको घोषणा बुधबार आयोजित कार्यक्रममा निर्माण पक्षले गरेको हो।
२०१९ को जनवरीबाट छायांकन सुरु हुने यस चलचित्रमा नायक कबिरले अभिनेत्री सूर्यासँग रोमान्य गर्नेछन्। चलचित्रका लागि अझै एक नायक र एक नायिका छनौट हुन बाँकी रहेको निर्माण युनिटले जनाएको छ।
९५ प्रतिशत सुटिङ अष्ट्रेलियामा गरिने लभ स्टोरी जनराको ‘तिमी र म’ फिल्मलाई नेपाली र अष्ट्रेलियन दुई निर्देशकले निर्देशन गर्नेछन्। निर्देश सरोज पोखरेल र अष्ट्रेलियन निर्देशक मेट विल्लिम्सले संयुक्त रुपमा चलचित्रको निर्देशन गर्ने बताइएको छ।
सुनौलो सपना बोकेर अष्ट्रेलिया पुगेका युवाहरुको कथा चलचित्रले वाचन गर्ने निर्देशक पोखरेलले बताए। १ करोड ५० लाखमा निर्माण भ्याउने लक्ष्य लिइएको उक्त चलचित्र एनएसएम क्रियशनको ब्यानरमा निर्माण हुन लागेको हो।
कमला पोखरेल, चन्द्र बहादुर खड्का र भुषन पोखरेलको निर्माण रहने ‘तिमी र म’ को कथा उत्कृष्ट लागेर आफू अनुबन्ध भएको नायक खड्काले बताए।