मोबाइल थर्थरायो। आँखा मिच्दै मोबाइलतिर हात लम्काएँ। कल, टेक्स्ट वा नोटिफिकेसनमा मोबाइल काँप्छ आजकल। ‘भाइब्रेसन’ भन्ने यो अंग्रेजी शब्द पनि मोबाइल किनेपछि नै जानेको हो। मोबाइल शोख हुन्जेल अनेक रिङटोन बदलियो, आजकलका युवायुवतीले प्रेमीप्रेमिका बदलेजस्तै। जब शोख नभएर वाध्यतामा परिणत भयो, त्यसदिनदेखि सदाका लागि थर्थराउने बनाइयो। मोबाइललाई भाइब्रेसनमा राख्न थालेको दशक पूरा भइसकेछ।
अमेरिकाबाट साथी रमीतको टेक्स्ट रहेछ। जवाफ लेख्न पनि जाँगर चलेन। मोबाइल हुत्याइदिएँ। त्यसबेलाका प्रधानमन्त्रीले सपना देखाइदिएनन्। समृद्ध नेपाल, सुखी नेपाली नारा दिएनन्। त्यसैले त सुख खोज्न मेरो साथी अमेरिका भासिएको थियो, अनि केही समयपछि म युरोपतिर। भासिएको किन भने यताको भासबाट उम्किएर मेरा देशका सपना देखाउने प्रधानमन्त्रीले बनाएको समृद्ध नेपालका सुखी नेपालीहरुसँग भेट गर्न जान सकिएला जस्तो लागेको छैन। आजकल त कसैसँग कुरा गर्नु पनि मनमा भिनेगर हालेर अमिलो बनाउनु जस्तो लाग्छ।
बरु मेरो मोबाइलसँग नाता गाँसिएको कथा दिमागको रंगशालामा एकैछिन खेल्न थाले। पहिले पहिले त मोबाइलको धुन, रिङटोन फेरिरहन मन लाग्थ्यो। मोबाइल सेट फेरिँदा रिङ टोन पनि फेरिन्थ्यो । त्यो त सहजै भयो । त्यसमा पनि बेला बेलामा कहिले गीत त कहिले कसैको आवाजमा रिङ टोन भरिन्थ्यो।
नोकिया। नाम चलेको ब्राण्ड। कुनैबेला बजारमा एकछत्र राज थियो यसको। क्यामेरासहितको फोल्डिङ सेट। गोजीमा राख्नै मन नलाग्ने। हातमै लिएर हिडुँ हिडुँ लाग्ने । कहीँ कतै बस्दा पनि अगाडिको टेबलमा राख्नुपर्ने। सेट देखाउनुको अर्को मज्जा। पुल्चोकमा एउटा कार्यक्रम थियो, राउण्ट टेबल टक। म पनि त्यसको एउटा सहभागी। शानसँग टेबलमा मोबाइल राखेँ। बोल्ने क्रम जारी थियो। मेरो बोल्ने पालो आउनै लागेको थियो, मोबाइलमा घण्टी बजयो। रिङटोन थियोः मेरे प्यारका उमर....। यस्तो त कति ठाउँमा भयो भयो। सेट फेरिँदै गए, रिङ टोन पनि। पछि ट्रेण्ड पनि फेरियो। मन नै फेरिएपछि अरु के के फेरिए कति हिसाब राख्नु?
अर्को दिन फेरि मोबाइल काँप्यो। कापिरह्यो। सिरानी नजिकैको सानो टेबल भुइँचालोमा झै थर्थरायो। यसो मोबाइल उठाएर हेरेँ। आज मध्यदिनसम्म सुतिराखेको छस् तँ ऊसले गालीसहित लेखेको थियो। सायद ऊ कुरा गर्ने मुडमा थियो। म थिइनँ। देशै छाडेपनि साथीभाइ छोडिहाल्न चाँही नसकिने रहेछ। त्यही भएर त ऊ बारबार मलाई सम्झन्छ। घडीमा आँखा पुर्याएँ। साढे आठ बजेछ। आजकल सूर्योदय नदेखेको पनि कति भइसक्यो थाहा छैन। सानो हुँदा घाम झुल्किन लाग्दा उठिन्थ्यो। बासी भातमा दूध हालेर घाँस काट्न गइन्थ्यो। घाँसको भारी लिएर फर्कँदा घाम निकै माथि आइसकेको हुन्थ्यो। हतार हतार अलिकति भात खाएर स्कुलतिर दौडिन्थ्यौं। दौडमा खुब रमाइलो थियो । आमाको काख थियो। बुवाको आड भरोसा थियो। वरिपरि साथी भाइ थिए। जे परेपनि संरक्षण दिने समाज थियो।
दौड आज पनि उस्तै छ। तर, आमाको माया सात समुद्रपारी छाडियो। वुवाको संरक्षण विना पनि बाँच्न सक्छु भन्ने सोचियो। आफू जन्मेको माटो छाडियो। आजकल त टिभीमा राष्ट्रिय झण्डा देख्नुहुन्न तरर आँशु वर्षिन्छन्। कमसे कम मैले त निकै ठूलो हुँदासम्म बुवाको अभिभावकत्व पाएँ। तर, डोर्याउँदै स्कुल लैजाने बुवा विदेशिँदा कसरी खप्छन् होला? केही पीर पर्दा कसको काखमा पल्टिएर रुन्छन् होला भन्ने लाग्छ । सँगै जीवन जिउने सपना देखेकी पत्नी कसरी सम्झँदी हुन्?
आफ्नै संसारमा हेलिएको बेला मोबाइल फेरि थर्थरायो। टेक्स्टको जवाफ नआएपछि फोन नै गरेछ साथीले। हेलो...भन्न मात्रै के भ्याएको थिएँ, उसले पुरानै शैलीमा हका¥यो के पारा हो यो? टेक्स्टको जवाफ नआउँदा कुनै अप्रिय त भएन भनेर आत्तिएर कल गरेको । ऊ डराउनु पनि स्वाभाविक हो। दैनिक करिब चारजना नेपाली रातो बाकसभित्र नेपाल फर्कन्छन्। परिवारबाट टाढा बसेका छन्। कसैलाई सपना देखाउँदैनन्। विपनामा दुःख खप्छन्, परिवारको मुखमा माड लगाउँछन्। देशको लागि रेमिट्यान्स भित्र्याउँछन्। देशलाई दुःख पर्दा तत्काल राहत पठाउँछन्। अन्तमा भगौडा नामले पुकारिन्छन्। नागरिकता गुमाउँछन्। अनागरिक बन्छन्।
म बोल्न मात्र के खोजेको थिएँ, उसले फेरि थप्योः सुतिरहेको हो र? अहिले त त्यहाँ साढे आठ भइसक्यो होइन र? घडीमा साढे आठ बजेर के गर्नु, जीवनमा अझै साढे सात चलिरहेकै छ, यसै भन्न मन लागेको थियो तर, भन्न सकिनँ। राति ढिलो सुत्छु, त्यसैले ढिलो नै उठ्छु। उठ्ने बेला त अब हुँदै छ। सन्चो बिसन्चोको सामान्य औपचारिकतापछि उसले फेरि हकार्यो, तँ किन यसरी हराइस् दाइ । नाताले दाइ भने पनि सम्बोधन गर्दा तँ भन्छ । निकै वर्षअघि गुरुपूर्णिमाको दिन उठ्न नपाउंदै लड्डु र केही उपहार ल्याएर भन्यो, ह्याप्पी गुरुपूर्णिमा। गुरु ठानेर कसैले भेट्न आएको देखेर दंग पर्दै पत्नीले सोधिन्, साथी ठानेको त गुरुचेलाको सम्बन्ध पो रहेछ। उ मरित हेरेर वोलाैं कि नबोलाैं भयो। अलि गम्भीर भएर भन्योः यो दाइ थियो र त म यहाँ छु। म इन्टर्नसीपमा गएको मान्छेलाई जागीर दियो, काम सिकायो, बाँच्न सक्ने गरी उसले नै सिकाएको हो।
उसले दाई भनेकोमा भन्दा तँ सम्बोधन गरेकोमा मलाई आनन्द आउँछ । आखिर आत्मीयता भनेको यही होला।तँ मलाइ किन हराइस् भन्छस्, म यसलाई उपस्थित भएको भन्छु, मैले भनें। म त छोराहरुको स्कुलमा शूल्क भएर उपस्थित भएको छु। मेरो परिवारको भान्सामा माम भएर उपस्थित भएको छु। देशका लागि रेमिट्न्यास भएर उपस्थित भएको छु। परिवारको लागि टाढाको जुन भएर उपस्थित हुन्छु, न्यानो त दिन सक्दिनँ तर, अलिकति प्रकाश दिन्छु, मैले अनायसै थपेछु ।
मैले बुझेको छु। उसले हराइस् भन्नुको मतलब लेख्न छाडिस् भनेको हो। पहिला लेख्ने उत्साह हुन्थ्यो। आजकल त के लेख्नु जस्तो पो हुन्छ त। पत्रकारिता आवाजविहीनको आवाज भनिन्थ्यो । तर, आजकल पत्रकारिता कर्पोरेट हाउस र हुनेखानेको आवाज हुन थालेको छ। तर्साउने र उठाउनेको माध्यम बन्न थालेको छ। पहिला आवाजविहीनको आवाज बन्न पाउँदा आत्मसन्तुष्टि हुन्थ्यो ।
आजकल पत्रकारिता सफलताका कथा खोज्छ, आवाजविहीनसम्म पुग्न रुचाउँदैन । त्यसैले आजकल आवाजविहीन मात्रै देख्छु । कसको आवाज लेखुँ? फेरि अर्को कोणबाट हेर्छु, बढ्दो प्रविधि र सामाजिक सञ्जालका कारण सबैसँग अहिले आवाज त छ तर, त्यसको सुनुवाइ हुँदैन। हराउनु र हराइनुमा ठूलो भिन्नता रहेछ, भाग्नु र भगाइनुमा जस्तै। भागेर पनि कहाँ जानु र? एक्लै बस्न नसकिने, अनि विगतलाई बिर्सन पनि कठिनै हुने। त्यसैले झस्काइरहन्छ। जसरी उसले अमेरिकामा सुरुका कठिनाइ भोगेको थियो, अहिले म यूरोपमा त्यस्तै भोग्दैछु भन्ने लाग्दो हो।
उसको कुराले मलाई अतित सम्झयो। पढ्दादेखि पढाउँदासम्म, लेख्दादेखि लेखाउँदासम्म, देख्दादेखि देखाउँदासम्म, सुन्दादेखि सुनाउँदासम्मका अनेकन् घटनाक्रम र समयक्रम नागबेली बनेर मानसपटलमा मडारिए। मन गह्रौं भयो । के गर्छस् त? यो सब् समयको खेल रहेछ। समयले यसो गर भन्छ, मान्छेले त्यसै गर्नुपर्ने रहेछ। यसलाई समयसँगै जोडेर हेर्दा मनासिब होला कि? मलिन भावमा जवाफ दिएँ। ऊ अहिले अमेरिकामा सेटल भएको छ । तर म यता भौँतारिरहेको छु। भौँतारिँदाको पीडा उसले पनि राम्ररी बुझेको छ। मेरो अवस्थाको बारेमा पनि उसलाई थाहा छ।
हामीले विगतलाई सम्झ्यौं, वर्तमानको समीक्षा ग¥यौं अनि भविष्यका बारेमा सोच्ने प्रयास गर्यौं। त्यति नै बेला उसले सोध्योः तँलाई त्यो रत्नेको बारेमा थाहा छ? यसले काठमाडौंमा अहिले के गर्दैछ? उसको अवस्था के छ?
********
हामी रतनलाई रत्ने भन्छौं । कुनै बेलाको सहकर्मी । तर, विधा र जिम्मेवारी फरक। लागे रहो मुन्नाभाइ प्रवृत्ति। पहिला पहिला एकघण्टा हिँडेरै अफिस आउँथ्यो। पछि साइकल किन्यो। करिब एक वर्षपछि मोटरसाइकल। लाइसेन्स थिएन। प्रहरी भनेपछि उसको सातो जान्थ्यो। लाइसेन्स परीक्षामा प्रहरीको उपस्थिति हुने। एकदिन बिहान अफिस पुग्नासाथ नम्र स्वरमा रत्नेले भन्योः दाई लाइसेन्स बनाउन पाए कहिलेकांही पनि सेवा गर्न पाउँथे। पूरै विनम्रता भनौँ वा चाकडीको भाषा बोलेको सुन्दा लागेको थियो, एकदिन यसले मुलुक खान्छ।
आम मानिसको स्वभाव हुन्छ, चाकडी मन पराउने। बग्गीखानामा चिनजानकै एसपी थिए। रत्नेलाई एसपीसँग भेटाइदिए। लाइसेन्स बनायो। बाइक चलाउन थालेपछि उसको र मेरो गति नै बदलियो। गति बदलिँदा साथ छुट्यो। एकदिन अचानक ऊ कार्यालयमा आयो। औपचारिकता पूरा गर्न नमस्कार गर्यो, विनम्रता बिर्सिसकेको थियो।
एउटा म्यागेजिन हातमा थमाइदियो। ऊ प्रकाशक र सम्पादक भइसकेछ । सर्सर्ती आँखा लगाएँ । पत्रिकामा ‘तेलै तेल, कि त बुलेट नै बुलेट’ थिए। मनमनै सोचेँ आफूबीचमा हुर्किएको ऐजेरुले पत्रकारितालाई नमज्जाले खान्छ। वुझे, ऊ विनम्रता देखाउन होइन, आँफै मालिक भएको सन्देश दिन आएको थियो । रत्नेको विगतलाई एकछिन दिमागमा दौडाए। अनि रमितसँग भनेः थाहा छ, विमानस्थल पछाडि काँडाघारीमा एउटा भव्य घर बनाएको छ रे, गाडी चढेर हिँड्छ रे ! उसको पत्रिकाको वजारमा खासै उपस्थिति त देखिँदैन रे तर, ऊ जताततै छाएको छ रे! दाइ लेखेरै यति धेरै आर्जन गर्न सकिन्छ र? उसले सोध्यो।
यो प्रश्न सोध्दा हामीले कमाउने बाटो नजानेर यता आउनु परेको हो भन्ने भाव झल्किन्थ्यो। यो प्रश्न त मलाई भन्दा रत्नेलाई सोध्नु नि... मैले ओठे जवाफ फर्काएँ । लामो सास फेरेर मोरोले भन्योः दाइ जान्नेले कलम नै बेचेका छन्, हामी फुस्राहरु कलमबाटै बेचियौं । रत्ने एउटा प्रतिनिधि हो। उ जस्ता कसैले कलमलाई ढोका बनाएका छन्, कसैले बन्दुक र गोली। यति मात्रै हो र? कसैका कलम खुकुरी भन्दा धारिला छन्, कसैका नौनी भन्दा मुलायम । बम, बारुद, गोली.... अजासुहरुले कलमलाई अनेक बनाएका छन्। हामी त कलमलाई यथार्थ, मन, भावना र मर्मसँग जोड्न खोज्यौं, त्यसैले पनि यो अवस्था भोग्दै छौं नि! मेरो कुरामा उसले पनि सही थाप्यो।
डाहले, रिसले, आवेगले, स्वार्थले अनि इष्र्याले कलम चलाउनेहरुले मनग्य आर्जन गरेका छन्। तर, तिनीहरुलाई पनि समाजले त चिनेको छ नि दाइ, उसले ढाडस दियो। कलम चलाएर जसको पनि चित्र कोर्न सकिन्छ। जो कसैको आकृति उतार्छ कलमले । तर, जसले कलम चलाउँछ, सबैभन्दा पहिले त्यो कलमले चलाउनेकै आकृति उतार्छ। यति मात्रै ध्यान दिने हो भने कलमले कहिल्यै बद्मासी गर्दैन।
कलमले जन्माउँछ, कलमले नै हत्या गर्छ। कलमले बनाउँछ, कलमले नै भत्काउँछ । कलमले बिगार्छ अनि सपार्छ पनि । केबल यो त प्रयोग गर्नेको नियतमा भर पर्छ । हामी केहीबेर घोत्लियौं । आखिर कलम के हो? के कलम हतियार हो? यसलाई तरबार जस्तै धारिलो बनाउनु पर्छ? वा गोली जस्तै तीखो? अहँ होइन । कलम त विचार प्रवाह गर्ने औजार हो । यसलाई त मन जस्तै निर्मल राख्नुपर्छ अनि भावना जस्तै फैलाउनु पर्छ। यसलाई केबल चनाखो बनाए मात्र पुग्छ।
********
हामी गफिँदै थियौं, मोबाइलमा आलर्म बज्न थाल्यो। यसले हाम्रो कल्पना र गफमा ब्रेक लगाउनु पर्ने सूचित गर्यो। एकैछिन अघिसम्म अतितलाई सम्झिँदै, वर्तमानलाई हेर्दै अनि भविष्यका बारेमा सोच्दै गफिएका हामीबीच वर्तमान नै तँगारो बनेर उत्रियो। म त अब तयार हुनुपर्छ, निस्कनुपर्छ, नौ बजिसकेछ छ, मैले कुरा छोट्याउने कोशिस गरेँ। रमीत भने केहीवेर गफिन चाहिरहेको थियो। तेरो ड्युटी ११ बजे होइन र? उसले मलाई उम्किन नदिने उपाय निकाल्यो । त्यो त हो... मैले जवाफ दिएँ। अझै आधा घण्टाजति कुरा गर्दा केही बिग्रँदैन, उसले अझै कुरा लम्ब्याउने प्रयास गर्यो।
नेपालमा मात्रै हो र दाई रत्ने प्रबृत्ति त विदेशमा पनि उस्तै रहेछ। कोही मातको तालमा, कोही लातको धक्कामा, कोही आशाको तरेलीमा, कोही निराशाको परेलीमा, कोही लाइनको सुरमा, कोही लाइन नमिलेको बेसुरमा... संगीतको सुर र ताल भन्दा पनि निकै धेरै सुर, बेसुर, ताल र बेतालमा चल्दा रहेछन् कलम। उसले आफ्नो देखाइ र भोगाइ सुनायो।
म फेरि एक छिन घोत्लिए। परिवेश, परिस्थिति, कलम अनि त्यही कलम चलाउने केही अनुहारलाई सम्झिएँ। अनि टेबलमा रहेको एउटा डायरी र कलमलाई नियालें। नजिकै रहेको ल्यापटपको कि बोर्ड सुम्सुम्याएँ। अनि भने बेसुर र बेतालका अक्षर कोर्न तिमीहरुले मलाई कहिल्यै अनुमति नदिनु है!