२००७ सालको प्रजातान्त्रिक क्रान्तिपछि मथ्थर भएपनि मधेसले आफ्ना सवालहरु काठमाडौंलार्इ तेर्स्याउन थाल्यो। भारतीय-गंगा समथरदेखि उत्तरी भागको मधेसले मध्यपहाडमा अवस्थित काठमाडौंलार्इ प्रश्न गर्यो,'मैले तिमीबाट किन आहात महसुस गरिरहेको छु? झण्डै सात दशकपछि आजपनि काठमाडौंलार्इ मधेसको प्रश्न यही छ।
प्रजातान्त्रिक क्रन्तिपछि पनि अधिकारका लागि नेपालमा ठूला-ठूला जनआन्दोलन भए। जसमा मधेसीहरुको योगदान पनि महत्वपूर्ण रह्यो। तर, मधेसीहरु पाउनुपर्ने अधिकारहरुबाट बञ्चित हुन पुगे। समय-समयमा उनीहरु विस्फोट पनि भए। विविध कारणले त्यो विस्फाेटको चोट मधेसीहरुलार्इ पनि लाग्यो।
जहानिया राणा शासनविरुद्धको क्रान्तिमा थुप्रै मधेसीहरु पनि जोडतोडले लडे। क्रान्ति सफल भएपछि मधेसीहरुले के पाए? राज्यका संरचनामा मधेसीहरु किन कम? मधेसी किन दोस्रो दर्जाको नेपाली? झन्डै सात दशक पहिले वेदानन्द झाले गरेका यस्तै-यस्तै प्रश्न मधेसीहरुले पटक-पटक दोहोर्याइ रहे।
०५२ सालबाट हिंसात्मक विद्रोहमा उत्रिएको माओवादीलार्इ समथर मैदानबाट मधेसीले साथ दिए। पछि उनै मधेसी माओवादीका विरुद्धमा उत्रिन पुगे र पहिलो मधेस आन्दोलन भयो। माओवादीले मधेसका मुद्दालार्इ उपेक्षित नजरले हेरेको उनीहरुको ठहर थियो। माओवादीलार्इ उनीहरुले नेपाली कांग्रेस, नेकपा एमाले जस्तै 'पहाडिया दल' काे बिल्ला भिराए। त्यो बेलासम्म मधेसमा केन्द्रित रहेर विभिन्न दलहरु र कयौं नेताहरुको उदय भइसकेको थियो। र, भयो दोस्रो मधेस आन्दोलन।
यो आन्दोलनमा भएको सहमतिले मधेसी सामुदायको राजनीतिक प्रतिनिधित्व उल्लेखनीय मात्रामा बढाइदियो। संविधान सभाको कार्यकालमा ठूला दलसँगै मधेस केन्द्रित दलहरुपनि सत्ता लुछाचुँडीको खेलमा लागिरहे। र,०७२ सालकाे विनाशकारी भूकम्पले थिलथिलो भएको राजधानी अचानक तात्तियो। शिर्ष नेताहरु संविधान बनाउन जोडतोडले लागि परे। अन्तत: संविधान बन्यो। एक पक्षले त भन्यो-विश्वकै उत्कृष्ट संविधान। तर, केही सामुदायलार्इ यो संविधान स्वीकार्य भएन। संविधान स्वीकार नगर्नेमा अग्रस्थानमा पर्थ्यो मधेसी सामुदाय। नेपालको संविधान जारी भएकै दिनदेखि याे सामुदायले आन्दोलन सुरु गर्यो।
यही सेरोफेरोमा रहेर पत्रकार बसन्त बस्नेतले लेखेको पुस्तक भर्खरै बजारमा आएको छ। पुस्तकको नाम छ '७२ को विस्मय #संविधान #मधेस #नाकाबन्दी'। लेखकले पछिल्लो मधेस आन्दोलनलार्इ केन्द्रविन्दू बनाएर विगतका आन्दोलनको बारेमा पनि व्यख्या गरिदिएका छन्। जसको कारण पुस्तकको दायरा ७२ सालको पृष्ठभूमिमा मात्र सिमित हुँदैन।
संविधान भित्रिएसँगै सुरु भएको मधेस आन्दोलन र मधेस आन्दोलनकै आडमा भारतले गरेको अघोषित नाकाबन्दीबारेमा भविश्यमा कसैलार्इ अध्ययन गर्नुपरे ७२ को विस्मय जस्तो उपयोगी र दमदार दस्तावेज सायदै भेटिएला। कोरा राजनीतिक विषयहरुमा लेखिएका पुस्तकहरुको एउटा कमजोरी ठर्रो भाषा शैली र अमिल्दा शब्द हो भन्ने मान्यता रहिआएको पाइन्छ।
तर, लेखक यही कुरामा सबल लाग्छन्। पुस्तकको भाषा शैली, शब्द चयन र घटनाको प्रस्तुतिकरण आकर्षक छ। त्यसैले राजनीतिक विषयमा चासो नहुने मानिसलार्इ पनि यो पुस्तक पढ्दा झर्को नलाग्न सक्छ। मधेस बिटमा केन्द्रित रहेर काम गर्दा देखे भोगेका कुराहरुलार्इ पनि लेखकले पुस्तकमा सन्दर्भ मिलाएर आकर्षक ढंगले प्रस्तुत गरेका छन्। त्यसको उदाहरण पुस्तकभित्र धेरै ठाउँमा भेट्न सकिन्छ। अर्कोतर्फ काठमाडौंको कार्यालयमा हुने साथीहरुसँगको भलाकुसारी होस् या विदेशीसँगको यात्राका बेला मधेस आन्दोलनले दिएको त्रास। यस्ता कुरालार्इ लेखकले सन्दर्भ आएका बेला पुस्तकमा समावेश गरिहान्छन्, जसले पुस्तकलार्इ पठनीय बनाएको छ।
लेखकले मधेसी सामुदायलार्इ मात्र पुस्तकमा समेटेका छैनन्। टिकापुर हत्याकण्ड र थारु जातिको अधिकारको सङ्घर्षलार्इ पनि पुस्तकमा ७२ को विस्मयमा समावेश गरेका छन्। संविधान बनिरहँदा पश्चिम नेपालमा लागेको आगोलार्इ पनि समिक्षा गर्न पुग्छन् लेखक। समग्रमा भन्नुपर्दा पुस्तकले ७२ सालको नाकान्दी र मधेस आन्दोलनमा भएको उकुसमुकुसको राजनीतिक अवस्थालार्इ वर्णन गरेको छ।
लेखकले विभिन्न जिल्लामा पुगेर स्थलगत रुपमै घटनाको अध्ययन र सूचनाको संकलन गरेका छन्। त्यतिमात्र होइन, पीडितसँग पनि कुराकानी गरेका छन्। लेखक सूचना संकलनका क्रममा भारतसम्म पनि पुगेका छन्। लेखको मेहेनत देखिएको पनि छ। के अब मधेस केन्द्रित दलहरु आफ्ना पूराना माग ब्युत्याएर अघि बढ्न सक्लान्? कि सङ्क्रमणको समाप्तिसँगै नियमित क्यालेन्डर पछ्याउन थालेको नेपाली मूलधारको राजनीतिमा एउटा हिस्सा भएर राजनीति चलाउन? अनि के सरकारले उनीहरुलार्इ नेपाली राजनीतिको मूलधारमा समेटेर लैजाने काैशल देखाउला? कि संवादको सट्टा अपनाउन सक्ने अनुदार नीतिको कारण उनै पृथक्तावादीको कथ्यलार्इ बल पुग्ला? अन्त्यमा लेखकले यिनै प्रश्न गर्दै पुस्तक टुङ्ग्याउँछन्।
लेखक अखबारीय लेखनको प्रभावबाट भने मुक्त हुन सकेका छैनन्। पुस्तकभर सन्दर्भ अनुसार विभिन्न व्यक्तिको भनाइ राखिएको छ र स्रोतलार्इ उद्धृत गर्दै पुस्तकमा विभिन्न सन्दर्भमा उनीहरूकाे कुरा समावेश गरिएकाे छ। जसका कारण प्रत्येक पृष्ठ पल्टाउँदा समाचार पढेको भान हुन्छ। पुस्तकमा लेखकले घटनाक्रमहरु राखिदिएपनि मधेस, काठमाडौं र अघोषित नाकाबन्दी गर्ने दिल्ली सम्बन्धबारे गहिरो विश्लेषण गरेका छैनन्। लेखकले पुस्तकको सुरुवातमै एउटा प्रश्न सोधेका छन्-मधेसले खोजेको चैं के हो? यस प्रश्नको उत्तर जान्न चाहनेले एकपटक पढ्नैपर्छ- ७२ को विस्मय।