स्मृति गौतम नेपाली सांगीतिक क्षेत्रमा स्थापित नाम हो। उनी पछिल्लो पुस्ताकी उदयमान लोकदोहोरी गायिकाको रुपमा चिनिन्छिन्। सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकामा जन्मिएकी स्मृति चार दिदीबहिनीमध्ये कान्छी हुन्। उनले गाउँकै ऐसेलुखर्कबाट एसएलसी पास गरिन्। त्यसपछि उनी आफ्नो भविष्य खोज्न २०६७ मा काठमाडौं झरिन्। काठमाडौं आएपछि उनको ध्यान पढाइतिर भन्दा गीत संगीततिर केन्द्रित भयो।
सिन्धुपाल्चकेको गाउँबाट काठमाडौं आउँदा केही नौलो लागेपनि स्मृतिलाई नेचुरल स्वर र टिपिकल शब्दले भरिपूर्ण प्रतिभाका कारण स्थापित हुन खासै गाह्रो भएन। काठमाडौं आएपछि उनी विस्तारै लोकदोहोरी गीततिर आकर्षित भइन्। सुरिलो स्वरकी धनी गायिका स्मृतिले २०६८ सालमा पहिलो पटक रामकुमार नेपालीको शब्द र संगीतमा तयार भएको ‘भाग्य फुटेको छ’ बोलको लोकदोहोरी गीत गाउने मौका पाइन्।
मिठो स्वर र सवालको जवाफ टपक्कै दिन सक्ने क्षमताकै कारण लोक दोहोरीमा छिट्टै स्थापित भइन् उनी। स्मृतिले अहिलेसम्म झन्डै ७० वटा जति लोकदोहोरी गीतमा स्वर दिइसकेकी छन्। कसको प्रेरणाले सांगीतिक क्षेत्रमा आउनुभयो भन्ने प्रश्नमा उनी भन्छिन्,‘म आफ्नै मेहनत र इच्छाले कला क्षेत्रमा आएकी हुँ।’ उनको विचारमा ‘कलाकारिता भनेको ‘आफूभित्र लुकेर बसेको प्रतिभा देखाउने क्षमता हो।’
गायिका बन्नलाई उनले अहिलेसम्म कुनै ठाउँमा गएर संगीत सिकेकी छैनिन्। उनी नेचुरल स्वर र आफ्नै मेहनतका कारण छिट्टै स्थापित लोकदोहोरी गायिका भएकी हुन्। आफ्नै प्रयास र इच्छाले संगीत क्षेत्रमा लागेकी स्मृतिलाई परिवारको पनि राम्रै साथ सहयोग रहेको छ। सानै उमेरदेखि नै गायन क्षेत्रलाई मन पराएकी स्मृति स्कुलमा हुने सांस्कृतिक कार्यक्रमहरुमा सधैं भाग लिने गर्थिन्।
उनलाई गीत गाउन ठ्याक्कै यही भाका र लय भन्ने छैन। उनी अफर आएसम्म सबै भाका र लयमा गाउन सक्छिन्। स्मृति पूर्व, पश्चिम र काँठे सबै भाकाका गीतमा राम्रो दख्खल राख्छिन्। उनका अहिलेसम्म १५ वटा लोकदोहोरी गीत आफ्नै लगानीमा तयार भएका छन्। निकट भविष्यमै उनका थप दुईवटा नयाँ गीत बजार आउँदैछन्। ‘अहिले सदाबहार तिहार देउसी गीतको भोकल र छायांकन हुँदैछ,’उनी भन्छिन्।
पछिल्लो समय उनको ‘सालको पात टपरी दुना, तिमी मेरो कलेजी छेउकुना' बोलको लोकगीत चर्चाको शिखरमा पुगेको छ। यो गीत उनले वरिष्ठ लोकगायक सरोज लामिछानेसँग गायकी हुन्। यो गीत सुन्दा नेपाली भाषाको झर्रोपन भेट्टाइन्छ। यस गीतमा टिपिकल नेपाली शब्द प्रयोग गरिएको छ, जसमा गाउँघरको झझल्को आउँछ। भर्खरै बिदा भएको नेपाली महिलाहरुको महान पर्व तीजको उपलब्धमा ‘नाचौं घुमीघुमी' बोलको तीज गीतमा स्वर दिएकी थिइन्। उनको मिठो स्वर र उत्कृष्ट प्रस्तुतिकै कारण सो गीतमा अवार्डसमेत जित्न सफल भइन्।
गीतसंगीत तपाईँको पेशा कि सोख भन्ने प्रश्नमा उनले भनिन्, ‘सांगीतिक क्षेत्र मेरो पेशा हो, यसलाई मेरो स्वास्थ्य र स्वरले साथ दिँदासम्म छोड्ने छैन।’ भविष्य पनि यसैमा देखेकी स्मृतिले अरु पेशाको बारेमा नसोचेको बताइन्। गीतसंगीतले जीवीको पार्जन हुन्छ त? भन्ने प्रश्नमा उनी भन्छिन्,‘अहिलेसम्म लाउन खान राम्रोसँग पुगेको छ।’ गीत संगीत क्षेत्रको आयस्रोतको बाटो के हो त भन्ने प्रश्नमा उनले भनिन्,‘पहिला चक्का बिक्री हुन्थ्यो अहिले युटुब च्यानल र स्टेज प्रोग्राम नै हो।’ उनले नेपालमा पूर्वदेखि पश्चिमसम्म धेरैवटा स्टेज प्रोग्राम भ्याइसकेकी छन् । नेपालका धेरैवटा स्टेज प्रोग्राम तताइसकेकी स्मृतिले पछिल्लो समय विदेश जाने अवसर पनि पाइन्। विदेश जाने क्रममा स्मृति स्टेज प्रोग्राम लिएर दुबही, कतार र मलेसिया पटक–पटक पुगिसकेकी छन्।
धर्मकर्ममा विश्वास गर्ने स्मृतिले तिजको ब्रत भने बसिनन् रे। ‘विवाह नगरेका केटीले विवाहित महिलाले जस्तो ब्रत बस्नुपर्दैन,’ उनी भन्छिन्। २४ औं वसन्तमा टेकेकी गायिका स्मृति गौतम अहिलेसम्म अविवाहित छिन्। कसैले प्रपोज गरेका छैनन् भन्ने प्रश्नमा उनको जवाफ थियो–‘आइ लभ यु’ भन्ने त धेरै छन्, तर मैले अहिलेसम्म कसैलाई ‘सेम टु यु’ भनेकी छैन। कसैले प्रेम प्रस्ताव राखेमा हाँसेर टारिदिने, तर त्यसलाई पछाडि फर्केर नहेर्ने उनी बताउँछिन्।
‘विवाह भनेको प्राकृतिक कुरा हो, व्यवहारको लागि सबैले गरेका हुन्छन्, त्यो भविष्यमा म पनि गर्छु,’उनी भन्छिन्। अझै २-४ वर्ष विवाह गर्ने सोच नरहेको बताउने स्मृतिले अहिले गीतसंगीतलाई नै प्राथमिकतामा राखेको बताउँछिन्। सपनाको राजकुमार खोज्नुभएको छैन भन्दा ‘अहिले नै खोजिसकेको छैन समय आएपछि आपैm मिल्दै जान्छ,’ उनले भनिन्।