आख्यानकार राजेन्द्र पराजुलीका चोटिला कथाहरुको संग्रह ‘अघोरी’ सार्वजनिक भएको छ । यसमा आधुनिक नेपाली समाजका विविध पाटाहरु झल्काउने १७ कथा समावेश छन् ।
प्रायः हरेक मान्छेका आ–आफ्नै कथा हुन्छन्, जो सबैले भन्न सक्दैनन् । यिनै नभनिएका नलेखिएका मान्छेहरुका भावना, संवेदना, प्रेम,आवेग, दुःख पीडा वैराग्य र खुशीका कथाहरु अघोरीमा छन् ।
‘मान्छे पढ्नु–कथा पढ्नु, अथवा मान्छे लेख्नु–कथा लेख्नु मलाई उस्तैउस्तै लाग्छ,’ कथाकार पराजुली भन्छन्, ‘नेपाली समाजको मान्यता बनिबनाउ तथा स्थिर खालको छ, त्यसमा अलिकति भएपनि हलचल ल्याउन मैले शब्दका ढुंगा हान्ने प्रयत्न गरेको छु ।’
सुपरिचित साहित्यकार एवं पत्रकार पराजुलीले यसअघि कथा, कविता र उपन्यासका आधा दर्जन पुस्तक लेखिसकेका छन् । उनको पछिल्लो कृति अघोरीको विशेषता यसका कथाहरुमा रहेको विविधता हो ।
अघोरीको कुनै पात्र राजनीतिक पराजयपछि शान्तिको खोजीमा एकान्तबासमा हराएकी हुन्छिन् । एकजना आधुनिक अघोरीको जीवनको सार्थकता खोज्दै जाँदा असामान्य अवस्थामा पुगेको छ । एउटा कथामा भुटानी अन्वेषक राजदुरबार हत्याकाण्डको रहस्य बुझ्न आउँदाको अनुभूति छ । अनि कुनै साहित्यकार मदन पुरस्कार प्राप्तिको उपाय खोज्दै भौंतारिएका ेरमाइलो कथा पनि छ ।
मधेश आन्दोलन चल्दै गर्दा लेखक एउटा युवा जोडीको जीवनमा प्रवेश गर्छन्, जसले ‘केमिस्ट्रि’ जन्माएको छ । हिजोको ‘रातो छाला’ समयक्रममा कसरी लिलामीमा चढ्यो, यो प्रतिकात्मक कथाले क्रान्तिकारी राजनीतिको अवरोहलाई झल्काउछ । अनि एउटा कथामा चाहिँ नायिकाले सपनामा प्रश्न गर्छिन्, ‘तिमीले मेरो हत्या किन ग¥यौं लेखक ? तिमी लेखक हौ कि हत्यारा ?’
अघोरी किताब पब्लिसर्सको दोस्रो प्रकाशन हो । यसले अघिल्लो महिना दुगा सुवेदीद्वारा लिखित ‘विमान विद्रोह’ प्रकाशन गरेको थियो ।