अभिनेत्री तनुश्री दत्ताले यौन शोषणको आरोपमा अभिनेता नाना पाटेकरविरुद्ध उजुरी दिएकी छिन्। उनले मुम्बईको ओशिवारा प्रहरी कार्यालयमा उजुरी दिएकी हुन्।
सन् २००८मा फिल्म ‘हर्न ओके प्लिज’ को सुटिङका बेला नानाले आफूलाई गलत तरिकाले छोएको तनुश्रीको आरोप छ। अभिनेत्रीले आफ्नो उजुरीमा नाना पाटेकर, कोरियोग्राफर गणेश आचार्य र निर्माता समीर सिद्धिकी, निर्देशक राकेश सारंगविरुद्ध एफआइआर दर्ता गराउन माग गरेकी छन्।
उनले एक गीतको सुटिङका दौरान नानाले स्टेप सिकाउने बहानाले आफूलाई अंगालोमा लिएको र अनावश्यक रुपमा शरीरका अंगहरुमा छुने प्रयास गर्दा आफूले असहज अनुभव गरेको बताएकी छन्। यो घटनाका बारेमा निर्माता, निर्देशक तथा कोरियोग्राफरले समाधानको प्रयास निकाल्ने आशा गरेकोमा त्यसो नगरेको उनको आरोप छ।
उनले आफूले विरोध गर्दा त्यसो नगर्न निर्माताले दबाब दिएको र बदनाम गर्ने धम्की दिएको बताइन्। यो सबै नानाकै इशारामा भएको उनको भनाइ छ। यता अभिनेता नाना पाटेकरले भने तनुश्रीको आरोप अस्विकार गरेका छन्। उनले अभिनेत्रीलाई कानुनी नोटिस पठाउँदै आफूसँग माफी माग्नुपर्ने माग गरेका छन्।