अभिनेता नाना पाटेकर, निर्देशक विकास बहल र कमेडियन उत्सव चक्रवर्तीपछि अब टेलिभिजनका चर्चित अभिनेता आलोकनाथमाथि बलात्कारको आरोप लागेको छ । निर्देशक, निर्माता एवं लेखक विनता नन्दाले फेसबुकमार्फत् उनीमाथि आरोप लगाएकी हुन् । तर उनले सिधै आलोकनाथको नाम लिएकी छैनन् । उनले टेलिभिजनका एक ‘संस्कारी बाबु’ ले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी हुन् ।
सन् १९९० को दशकमा टेलिभिजनमा ‘तारा’ नामको सिरियल आउथ्यो । यसका निर्माता थिइन् विनता नन्दा । यो शोमा आलोकनाथ दीपक सेठको मुख्य भूमिकामा थिए । विनताले आफ्नो फेसबुकमा लेखेकी छन्, ‘उनले मलाई घर छाड्न गए र मैरै घरमा रक्सी खुवाएर बलात्कार गरे ।’
उनले लेखेकी छन्, ‘म त्यतिबेला नम्बर १ शो रहेको ताराको निर्माता थिएँ । उनी सिरियलकी एक अभिनेत्रीको पछि लागेका थिए । तर नायिकालाई उनीप्रति कुनै चासो थिएन । तर टीभीका ठूला अभिनेता भएको नाताले उनको यो हर्कतलाई माफी दिइएको थियो । नायिकाले पनि हामीलाई गुनासो गरिन् । त्यतिबेला उनलाई शोबाटै निकाल्ने सोच आएको थियो । शोबाट निकाले र यसबारे उनलाई पछि भन्नेपक्षमा थियौं । तर उनले यसबारेमा थाहा पाए । त्यस दिन उनी रक्सी पिएर सुटिङस्थलमा आए । क्यामरा रोल भएपछि, उनले नायिकामाथि खराब व्यवहार गर्न थाले । नायिकाले उनलाई थप्पड लगाइन् । हामीले उनलाई तत्काल सेटबाट बाहिर जान भन्यौं र यसरी उनी शोबाट निकालिए ।’
विनताले अगाडि लेखेकी छन्– उनले मलाई आफ्नो घरको पार्टीमा बोलाए । हामी सामूहिक रुपमा पार्टी गथ्र्यौं । यसैले उनले पार्टीमा बोलाउनु स्वभाविक थियो । पार्टीमा मैले जे पिएँ, त्यसमा केही मिसाइएको थियो । राती २ बजे मलाई अचम्मको महसुुस भयो र म त्यहाँबाट निस्किएँ । कसैले मलाई घरसम्म छाडिदिन्छु भनेको थियो । म पैदलै घर हिडें । बाटोमा उनी भेट भए । उनी आफ्नो कारमा थिए । मलाई कारमा बस्न भनें । मैले उनलाई विश्वास गरें र कारमा बसें । त्यसपछि मलाई केही पनि याद छैन । मलाई अलिअलि सम्झना छ, उनले मेरो मुखमा जबर्जस्ती रक्सी हालिदिए । जब मलाई होस आयो, मलाई निकै पीडा भइरहेको थियो । मलाई मेरै घरमा बलात्कार गरिएको थियो ।
मैले यसबारेमा साथीहरुलाई भनें । उनीहरुले यसलाई बिर्सिएर अगाढि बढ्न सल्लाह दिए । करिब २० वर्षपछि म बिल्कुल ठीक छु । मैले यो कथा किन शेयर गरें भने म चाहन्न कि कुनै पनि युवती आफ्नो सत्य कुरा शेयर गर्न डराउन् ।
विनताले आफ्नो कथा सार्वजनिक गरेपछि अभिनेता आलोकनाथले यस्तो प्रतिक्रिया दिएका छन् :
तपाईं उनैसंग (विनता) सोध्नुस्, मलाई किन सोधिरहनुभएको छ ? ती महिलाले भनिन्, त्यही नै ब्रह्म वाक्य हैन ? त्यही नै सत्य हो । यस्तोमा मेरो पक्ष जानेर के गर्नुहुन्छ ? तपाईंलाई जे लेख्न मन लाग्छ, लेख्नुस् । मैले बोलेको कुरा कसले विश्वास गर्छ र ? सबै विनतामाथि नै विश्वास गर्नेछन् । उनले जे भनिन्, यसले उनको मानसिकता देखाउँछ । मलाई आरोप लागेको छ, तर समयले सबै स्पष्ट पार्नेछ ।
न म बलात्कार आरोप अस्विकार गरिरहेको छु, न मैले नै गरेको हुँ भनिरहेको छु । त्यस्तो त भएको होला। तर अरु कसैले गरेको होला । म यसबारेमा बढी बोल्न चाहन्न । किनकि कुरा धेरै अगाडि बढिसकेको छ । अभ टाढा जाला । सबै ‘मि टु’ भनिरहेका छन् । यो एक राम्रो अभियान हो । यसअनुसार धेरै खुलास भइरहेका छन् । तर हामी महिलाको पक्षमात्र सुनिरहेका छौं, किनभने उनीहरुलाई कमजोर मानिन्छ ।
मलाई मानिससँग केही लिनुदिनु छैन । हाम्रो आत्मा सफा हुनुपर्छ । मानिसहरु त कसैको छवि बिगार्न केही न केही भनिरहेका छन् । जो भनिएको छ, त्यो सबै बेतुक हो । एक समय उनी मेरी असल साथी थिइन् । र आज यति ठूलो कुरा भनिन् । मेरो हिसाबले यो कुरालाई लम्ब्याउनु बेकार छ । आजको संसार यस्तो छ, जहाँ महिलाको मात्र कुरा मानिन्छ । यस्तोमा मैले केही बोल्नु बेकार छ ।
(एक टेलिभिजन च्यानलमा आलोकनाथले दिएको प्रतिक्रिया)