भारतमा एक वर्षअघि सुरु भएको महिला हिंसाविरुद्धको ‘मी टु’ अभियानका क्रममा दर्जनौं सेलिब्रिटीको नाम सार्वजनिक हुने क्रम तीब्र भएको छ।
नाम सार्वजनिक हुनेमा भारतीय विदेश राज्यमन्त्री एमजे अकबर, पत्रकार तथा लेखक प्रशान्त झा, फिल्म निर्माता सुवास घई, साजिद खान, अभिनेताहरु नाना पाटेकर तथा आलोकनाथ, विकास बहल, अभिनेता तथा फिल्म निर्माता रजत कपुर, गायक कैलाश खेर, अभिनेता वैरामुथु, एम मुकेश, गायक अभिजित भट्टाचार्य, बरुण ग्रोभर, रघु दीक्षित, गौरंग दोषी, विवेक अग्नीहोत्री, उत्सव चक्रवर्ती, चेतन भगत, अदिती मित्तललगायत छन्।
पछिल्लोपटक निर्माता सुवास घईलाई बलात्कारको आरोप लागेको हो। लेखक महिमा कुक्रेजाले घईबाट पीडित भनिएकी एक महिलाको ट्वीटर अकाउन्ट शेयर गरेकी थिइन्। कुक्रेजाले गत साता हाँस्य कलाकार उत्सव चक्रवर्तीले यौन दुव्र्यवहार गरेको आरोप पनि लगाएकी थिइन्।
कुक्रेजाले बलात्कृत ती महिला निकै विश्वसनीय मिडियासँग सम्बद्ध भएको उल्लेख गर्दै उनले नाम भने गोप्य राखेको बताएकी छन् । धेरै वर्षअघि ती महिलालाई घईले आफ्नो अपार्टमेन्टमा स्क्रीप्ट सेसन भनेर राती बोलाउने गरेको र महिलाप्रति चासो राखेको आरोप लगाइएको छ। ती महिलाले घईले आफूलाई जबर्जस्ती चुम्बन गरेको र तर आर्थिक सुरक्षा नभएका कारण चुप बसेको बताएकी छन्।
यस्तै म्युजिक सेसन अबेर सकिएको दिन घईले मदिरा सेवनको अफर गरेको र होटलमा लगेर दुव्र्यवहार गरेको ती महिलाले बताएकी छन्। तर, घईले भने आरोप अस्विकार गर्दै दुव्र्यवहारको प्रमाण नदिए आफूले मानहानीको मुद्धा दायर गर्ने बताएका छन्।
यस्तै, निर्देशक साजिद खानलाई पनि पूर्व सहायक निर्देशक सलोनी चोपडालगायत तीन महिलाले यौन दुव्र्यवहारको आरोप लगाएका छन् । उनी हाल छायांकन भइरहेको फिल्म ‘हाउसफुल ४’ का निर्माता हुन् । निर्मातामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि अभिनेता अक्षयकुमारले मुम्बईमा तय गरिएको सुटिङ रद्द गरेका छन् ।
यस्तै बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले विज्ञप्ति जारी गर्दै आफ्नो निर्माण कम्पनीले यौन दुव्र्यवहार र यौन हिंसाको कडा भत्र्सना गर्ने जनाउँदैं कलाकारमाथि लाग्ने गलत अभियोगको पनि भत्र्सना गर्ने जनाएका छन्।
केही समयअघि अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरले यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि ‘मी टु’ अभियानले तीब्रता पाएको थियो। यसअनुसार थुप्रै महिलाहरुले आफूमाथि यौन हिंसा गरेको खुलासा गरिरहेका छन् र आरोपी बहुचर्चित व्यक्ति रहने गरेका छन्।