वर्ष २०१७ की मिस नेपाल निकिता चंडक पहिलो पटक जनकपुर पुगेकी छन् । युवाहरुलाई लक्षित गरी हुन लागेको संगम युवा त्योहार कार्यक्रममा सहभागी हुन निकिता जनकपुर आएकी हुन् ।
झापा उर्लावारीकी निकिताले तराईमा पनि क्षमतावान महिलाहरु रहेकी बताएकी छन् । शुक्रवार इलान इभेन्ट मैनेजमेन्टले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चंडकले तराई मधेसका महिला तथा युवतीहरु क्षमतावान भएपनि समाजिक बाध्यताका कारण अगाडी बढ्न नसकेको बताइन् ।
‘तराई, मधेसमा पनि क्षमतावान महिला तथा युवतीहरु छिन, तर समाजिक परम्पराले बाँधिएर उनीहरु अगाडी बढ्न सकेकी छैनन्’ उनले भनिन्, ‘मोडलिङ र एक्टिङमा मलाई पनि घरपरिवारले शुरुमा साथ दिएनन् तर पछि गर्दै गएपछि उनीहरु पनि माने ।’
नेपालको इतिहासमा मारवाडी समुदायबाट मिस नेपालको उपाधी जित्न सफल भएकी उनी पहिलो युवती हुन । मनोरञ्जन काठमाडौँ केन्द्रित मात्र रहने गरेपनि मधेसी मुलका महिलाहरु समेत आफ्ना कला र प्रतिभा देखाउन थालेपछि अब तराई मधेस पनि मनोरञ्जनको हब बन्न सक्ने उनको विश्वास छ । नेपाली चलचित्रमा पनि अभियन गर्ने मौका आउने कहिल्यै नसोंचेकी उनी आफुले अरुलाई पनि कला क्षेत्रमा अभिप्रेरित गर्ने बताइन् ।
कृषि, विज्ञान तथा कला प्रदर्शनीमा आधारित कार्यक्रम संगम युवा त्योहार शनिवार दिउँसो दुई बजेदेखि भैरव चोकस्थित मसाला कटेजमा शुरु हुने बताइएको छ । कार्यक्रममा प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र साहसहित जनकपुरका स्थानीय मोडेलहरु समेत सहभागी हुने ईलान इभेन्ट मैनेजमेन्टकी संयोजक रिती कर्णले जनाएकी छन् ।
तराई उर्वर भूमी रहेपनि कृषि क्षेत्रमा उन्नती गर्न नसकेको भन्दै कृषि क्रान्तिकालागि उक्त कार्यक्रमा नयाँ अवधारणा प्रस्तुत गर्न लागेको कर्णले बताइन ।आफ्नौ देशमा रोजगारीका अवसर सृजनागर्न जापान, न्युजिल्याण्ड र भारतको केरला राज्यमा भइरहेको वैज्ञानिक खेतीबारे अध्ययन गरी सोही तवरबाट तराईमा पनि खेतीगर्न सक्ने खाका उक्त कार्यक्रममा प्रस्तुत गर्ने संयोजक कर्णको भनाइ छ ।
कार्यक्रममा फेसन शो, मिथिला पेन्टिङ, माटो कला, नाचगान, कला तथा विज्ञान प्रदर्शनी समेत हुने आयोजक संस्था ईलान इभेन्ट मैनेजमेन्टले जनाएको छ ।