दशैंको समयमा गुञ्जिने मालश्री धुनले हरेक नेपालीलाई आनन्द अनुभूति दिन्छ । यसलाई मौलिक नेपाली लोक धुन मानिन्छ। मालश्रीको सम्बन्ध शरद ऋतुसंग पनि छ । समय र संगीतको गहिरो सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको नेपाली संगीत क्षेत्रमा बाह्रै मासअनुसारका संगीत प्रशस्तै पाइन्छन्। तिनैमध्ये एक मालश्री धुन दशैंको समयमा देशभरजसो गुञ्जिने गर्दछ।
ऐतिहासिक किम्बदन्तीअनुसार देवीको गुनगानका लागि यो धुन बजाउन सुरु गरिएको हो । त्यसैले घर वा मन्दिरमा देवीको पूजा सुरु गर्नुपूर्व यो धुन बजाइन्छ । बिहान बेलुका दुवै समयमा बजाइन्छ ।
करिब साढे चार सय वर्षअघि नेवार समूदायबाट यो धुनको उत्पत्ती भएको मानिन्छ । राजा सिद्धिनरसिंह मल्लको पालादेखि यस धुनको प्रचार हुन थालेको बताइन्छ । १६ औं शताब्दीमा राजा महेन्द्र मल्लको पालादेखि १२ मासका धुनको सिर्जना भइसकेको थियो ।
हनुमान ढोकामा अवस्थित नृत्यनाथको मन्दिरमा पहिले पहिले दशैंभरी नै मालश्री धुन बजाउने गरिन्थ्यो । पृथ्वीनारायण शाहपछि शाहवंशका राजाहरुले पनि यसलाई निरन्तरता दिए ।
मालश्री धुन निकाल्न ठिक यही बाजा आवश्यक पर्छ भन्ने छैन । पहिले–पहिले बढी मात्रामा नौमती बाजा बजाउने गरिन्थ्यो । यसबाहेक ठमरु, गितार, हार्मोनियम लगायतका बाजासहित यो धुन निकालिन्छ । कुनै एक बाजाको प्रयोगबाट पनि मालश्री धुन निकाल्न वा गाउन सकिन्छ । पहिले पहिले पञ्चेबाजा वा अन्य एक बाजाको सहायताले मात्रै धुन निकाल्ने गरिन्थ्यो ।
धुन निकाल्नका लागि भने विशेष सीप भएकाले मात्रै सक्छन् ।
दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नै मालश्री धुन सुन्न सकिन्छ । साढे चार सय वर्षदेखि सुनिदै र बजाइदैं आएको यो धुनले अहिलेसम्म निरन्तरता पाइरहेको छ । धेरैले यो धुनलाई भारतको भारतखण्ड शास्त्रीय संगीतबाट आएको भन्छन् । तर यो धुनको आफ्नै मौलिकता छ । यो धुन पूर्ण रुपमा नेपालमै सिर्जना भएको संगितज्ञहरुको दाबी छ । यो धुनमा सप्त मात्रिकाको गुणगान छ । मालश्री धुनले नवदुर्गाको आराधना गरेर सबै नेपालीले संयुक्त रुपमा मानिने चाडलाई संकेत गर्छ ।