शाहरुख खान र काजोल अभिनित फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ ले प्रदर्शनको १२ सय हप्ता पूरा गरेको छ । सन् १९९५ को अक्टोबर २० मा प्रदर्शनमा आएको यो फिल्म मुम्बईको मराठा मन्दिर फिल्म हलमा लगातार १२ सय हप्ता प्रदर्शन भएर भारतीय फिल्म उद्योगमै रेकर्ड बनाएको हो । यसअनुसार यो फिल्म लगातार २३ वर्षदेखि प्रदर्शन भइरहेको छ ।
मराठा मन्दिरमा फिल्मले सन् २०१५ को फेब्रुअरी १५ मै १ हजार ९ हप्ता पूरा गरेर रेकर्ड बनाइसकेको थियो । उक्त दिन फिल्म हेर्न २ सय १० जना पुगेका थिए । सोही दिन नै फिल्म हलबाट उतारिइसकेको थियो। तर रेकर्ड बनाउनकै लागि पुनः प्रदर्शनमा ल्याइएको हो ।
फिल्मले १२ सय हप्ताको रेकर्ड बनाएको अवसरमा शाहरुख खानले बुधबार ट्वीट गर्दै भनेका छन्, ‘२३ वर्षअघि सुरु भएको एक विशेष यात्रा आज पनि जारी छ । तपाईंको मायाले राज र सिमरनको लभ स्टोरीलाई विगत १२ सय हप्तादेखि लगातार जिउँदो राखेको छ । यतिका वर्षदेखि तपाईंहरुले दिनुभएको मायाका लागि धन्यवाद ।’ यस्तै, फिल्ममा नायिका (सिमरन) को भूमिकामा रहेकी काजोलले पनि दर्शकहरुलाई धन्यवाद दिएकी छन् ।
आदित्य चोपडा निर्देशित यो फिल्म तत्कालिन समयमा ४ करोड रुपियाँमा निर्माण गरिएको थियो । फिल्मले बक्स अफिसमा १ अर्बभन्दा बढी रकम कमाइसकेको छ । फिल्म रिलिज हुँदा १ डलर बराबर ३२.३५ रुपियाँ थियो । फिल्मका संगितकार जतिन–ललित हुन् । फिल्ममा अमरिश पुरी,फरिदा जलाललगायतको भूमिका छ ।
निर्देशक आदित्य चोपडाले राज मलहोत्रा (मुख्य भूमिका) को भूमिकाका लागि हलिउड अभिनेता टम क्रुजलाई लिन चाहन्थे । उनी यसलाई इन्डो अमेरिकन लभस्टोरी बनाउने मुडमा थिए । तर यस चोपडालाई यो कुरा मन परेन । पछि सैफ अलि खानले पनि राज मलहोत्राको भूमिका गर्न अस्विकार गरेपछि यो भूमिका शाहरुख खानलाई दिइयो ।
यही नामको फिल्म सन् १९८० मा बनेको थियो । उक्त फिल्मको निर्देशन राजेन्द्र सिंह आतिशले गरेका थिए भने फिल्ममा बिना बनर्जी, देश गौतम र तारिक शाह मुख्य भूमिकामा थिए ।