शायद तिम्रो दुनियामा रात हुँदैन
तर, मेरो नजिक उज्यालो पर्दैन
तिमीले जीन्दगीका रंगीन पानाहरु पल्टाउछ्यौ
म झनझन् अँध्यारोमा रुमलिन्छु
यही त असमानता छ हामीबीच
तर, पनि एउटा समानता छ
दुवै यात्री हौं,
एउटाको लागि उज्यालोको अर्को लागि अन्धकारको ।
.....................
तिम्रो बाटोभरी फूल छर्न
तयार छ यो दुनिया
मेरो हिड्ने पुल भत्काउन
कम्मर कस्छ यो दुनिया
तिमीलाई चम्काउन चारैतिर बत्ती बल्छन्
मलाई निभाउन चट्याङहरु आफैं झर्छन्
यही त असमानता छ हामीबीच
तर, पनि एउटा समानता छ
सोचिदिने दुवैका लागि छन्,
एकका लागि उन्नति र अर्कोका लागि विनास ।
.............................
तिमी त माया नै मायाको सगरमाथा चढ्छ्यौ
म हेला र अपमानको खाेंचमा खस्छु
सूर्यले तिमीलाई मात्रै न्यानो दिन्छ
म त हिउँको एउटा भूमरीमा फस्छु
यही त असमानता छ हामीबीच
तर पनि समानता छ
दिनेहरु वरीपरी छन्
एकको लागि सम्मान र अर्कोको लागि अपमान।