अमेरिकाको क्यालिफोर्निया राज्यको उत्तरी क्षेत्रमा लागेको भीषण आगलागीबाट ७६ जनाको मृत्यु हुनाको साथै १ हजार २ सयभन्दा बढी हराइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।
आगलागीबाट हलिउड कलाकारहरु माइली साइरस, निल योङ तथा गेरार्ड बट्लरका घर ध्वस्त भएका छन् । साइरसले सोमबार बिहान ट्वीट गर्दैै मालिबुस्थित आफ्नो २५ लाख डलरको घर ध्वस्त भएको जनाइन् । उक्त घर उनले आफ्ना प्रेमी लियाम हेम्सवोर्थसँग मिलेर २०१६ मा किनेकी थिइन् । उनी अग्नीपीडितलाई सहयोगका लागि आफ्ना फ्यानहरुलाई पनि आग्रह गरेकी छन् ।
यस्तै, हलिउड अभिनेता तथा निर्माता बट्लरले पनि आगलागीबाट पूर्ण रुपमा जलेको घरको सेल्फी इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । गायक योङले पनि क्यालिफोर्निया आगलागीबाट आफ्नो घर गुमाएको उल्लेख गर्दै कमजोर वन व्यवस्थापनका लागि राष्ट्रपति ट्रम्पप्रति आक्रोश व्यक्त गरेका छन् । अर्का कलाकार रोविन थिकेको घर पनि आगलागीको चपेटामा परेको छ ।