नेपाली चलचित्र 'दि कर्मा' माघ ४ गतेलाई सरेको छ। यसअघि मंसिर ७ गते रिलिज हुने भनिएकाे चलचित्र 'दि कर्मा' माघ ४ गतेका लागि सारिएकाे हाे।
चलचित्रका निर्माता जयराज रायका अनुसार विशेष कारणवश यो चलचित्रलाई माघमा सारिएको हो। चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन्। नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन्।
जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आफैले लेखेका हुन्। निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो। भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको यो चलचित्रमा करणका अलावा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको छ।
काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश इन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’ को स्क्रिन प्ले र डाइलग सुशील पोखरेलको छ।