१७ वर्षीया बन्दना नेपालले लगातार १२६ घण्टासम्म नाचेर गिनिज बुकको रेकर्ड तोडेकी छिन् । उनले भारतकी कलमान्दालाम हेमलताले सन् २०११ मा राखेको १२३ घण्टा १५ मिनेटको रेकर्ड तोडेकी हुन् । बन्दनाले व्यक्तिगत तर्फको रेकर्ड तोडेकी हुन् ।
उनले गत शुक्रबारदेखि नेपाली गीतमा सुरु गरेको नाच बुधबार दिउँसोसम्म जारी राखेकी थिइन् । कार्यक्रम काठमाडौंको बिग फुडल्याण्ड रेष्टुरेन्टमा आयोजना गरिएको थियो । लगातार ६ दिनसम्म नसुती, आराम नगरी र खानासमेत राम्ररी नखाई उनी नाचेकी थिइन् । बीच–बीचमा दिइएका छोटो ब्रेकमा उनलाई इनर्जी ड्रिंक, दूध र उच्च पोषणयुक्त खाना दिइएको थियो ।
धनकुटाकी बन्दना काठमाडौंमा १२ कक्षामा पढ्छिन् । आयोजकहरुले नृत्यको भिडियोलाई रेकर्डका लागि गिनिज बुकमा पठाइने बताएका छन् ।