सबैभन्दा बढी कमाई हुने भारतीय सेलिब्रिटीमा सलमान खान अग्रपंक्तिमा परेका छन् । अमेरिकी पत्रिका फोब्र्सले सार्वजनिक गरेको सूचीअनुसार सलमानले २०१७ अक्टोबरदेखि २०१८ सेप्टेम्बर ३० सम्मको अवधिमा २५३.२५ करोड रुपियाँ कमाएका छन् ।
यस्तै, दोस्रो नम्बरमा रहेका भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले २२८.०९ र तेस्रो नम्बरका अभिनेता अक्षयकुमारले १८५ करोड रुपियाँ कमाइ गरेका छन् । चौथो नम्बरमा दीपिका पादुकोणले ११२ करोड र महेन्द्रसिंह धोनी १०१.७७ करोड रुपियाँका साथ पाँचौ नम्बरमा छन् ।
सलमान खानको कमाई एक वर्षमा ९ प्रतिशतले र विराट कोहलीको कमाई १२६ प्रतिशतले वृद्धि भएको बताइएको छ । अक्षयकुमारको ८८ प्रतिशत, दीपिकाको ६६ प्रतिशत र धोनीको आम्दानी ६० प्रतिशतले वृद्धि भएको छ । प्रियंका चोपडा भने अघिल्लो वर्षको सूचीमा ७ औं नम्बरमा रहेकोमा यसवर्ष ४९ औं नम्बरमा पुगेकी छिन् । यस्तै, शाहरुख खान दोस्रो नम्बरबाट घटेर १३ औं नम्बरमा पुगेका छन् । गतवर्ष उनको कमाई १७०.५० करोड रहेकोमा यसवर्ष ५६ करोडमात्र भएको बताइएको छ ।
सूचीका शीर्ष १०० मा ३१ करोड कमाईका साथ पवन कल्याण एकमात्र नेता बनेका छन् । आन्ध्र प्रदेशका जनसेना पार्टीका नेता उनी तेलुगु फिल्मका अभिनेता पनि हुन् । सूचीमा लेखकहरु अमिष त्रिपाठी चेतन भगत पनि परेका छन् । भगत ८.७५ करोड रुपियाँका साथ सूचीमा ९० औं नम्बरमा छन् ।