भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित फ़िल्म ‘द एक्सीडेंटल प्राइम मिनिस्टर’ को ट्रेलर रिलिज गरिएको छ । फिल्म आगामी ११ जनवरीमा रिलिज हुँदैंछ ।
ट्रेलर रिलिज भएपछि सत्ताधारी भाजपाले व्यंगात्मक ट्वीट गरेको छ । भाजपाको आधिकारिक ट्विटर ह्यान्डलमा भनिएको छ, ‘एक परिवारले कसरी एउटा देशलाई १० वर्षसम्म धितोमा राखेको थियो, यसको रोचक कथा यो फिल्ममा छ ।’
यो फिल्म संजय बारूको पुस्तकमा आधारित छ । उनले २००४ र २००८ का बीचमा मनमोहन सिंहको मिडिया सल्लाहकारका रुपमा काम गरेका थिए ।
फिल्मको ट्रेलर रिलिज भएसँगै मनमोहन सिंहको करिअरका समेत विश्लेषण गर्न थालिएको छ । मनमोहन सिंहलाई राजनीतिमा ल्याउने श्रेय पूर्व प्रधानमन्त्री पीवी नरसिम्हा रावलाई जान्छ । राजीव गान्धीको निधनपछि सन् १९९१ मा प्रधानमन्त्री बनेका रावले विदेशबाट फर्किएका सिंहलाई अर्थमन्त्री बनाएका थिए ।
फिल्ममा मनमोहन सिंहको भूमिका अनुपम खेर, सोनिया गान्धीको भूमिका सुजान बर्नट, लेखक सन्जय बरुको भूमिका अक्षय खन्ना र राहुल गान्धीको भूमिका अर्जुन माथुरले निर्वाह गरेका छन् ।