राष्ट्रिय सभाकी सांसद एवं गायिका कोमल वलीले सन् २०१९ भित्रै आफ्नो स्वयम्बर हुने खुलासा गरेकी छिन्।
गुरु मञ्जरी ग्रुपद्वारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाटन गर्दै वलीले भनिन्,‘स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर डटकम सार्वजनिक गर्नुपरेको छ, यही वर्षभित्र मेरो स्वयम्बर भेटिन्छ कि क्या हो? २०१९ को पहिलो दिनमा माइस्वयम्बर डटकमको उद्घाटन गरेकी छु, यो साल वर भेटिने छ । मेरो पनि यही साल स्वयम्बर हुन्छ।’ मंगलबार रिपोर्टर्स क्लब नेपालमा सांसद वलीले यसो भनिरहँदा उपस्थितिका तर्फबाट शुभकामना र ताली बजेको थियो।
सांसद वलीले हिन्दु धर्म वैज्ञानिक रहेको बताइन्। उनले भनिन्,‘हाम्रो हिन्दू धर्म विज्ञानभन्दापनि अगाडि छ। हाम्रो संस्कृति, हिन्दुधर्म विज्ञानमा आधारित छ, विज्ञानभन्दा पहिले छ, हामी नेपाली हिन्दु महिलाहरु मंगलबार वर्त बस्छौं, हिन्दु परम्पराले शरिरलाई स्वस्थ र मजबुद बनाउँछ भन्ने छ, हालै नोवेल पुरस्कार विजेताहरुले गरेको व्यापक अनुसन्धानले १५-१५ दिनमा एकचोटी भोको बस्दा शरिरलाई फाईदा हुने विश्वलाई जानकारी दिए, तर हाम्रो देशमा त यो प्रक्रिया धेरै लामो समयदेखि चल्दै आएको कुरा हो नि।’