सुनसान रात । बम्बैमा घरनजिक यहुदी चिहान । चिहानमा जताततै अँध्यारो र सन्नाटा । त्यही वातावरणबीच एक बालक त्यहाँ बसेर कुनै फिल्मको संवाद रियाज गरिरहेको थियो ।
त्यत्तिकैका टर्चलाइटको चम्किलो प्रकाश बालकतिर सोझियो । त्यो मानिसले सोध्यो– यो चिहानमा के गरिरहेका छौं ?
बालकले भन्यो–म दिउँसो जे राम्रो पढ्छु, रातमा यहाँ आए रियाज गर्छु ।
ती युवक थिए–असरफ खान, जो हिन्दी फिल्ममा काम गर्थे । बालकको संवाद सुनेपछि उनले सोधे– नाटकमा काम गर्छौ ?
त्यही बालक थिए कादर खान । र, उनको दशकौंको फिल्मी यात्रा त्यही चिहानबाट सुरु भएको थियो ।
जब कादर खानले सन् १९७७ मा ‘मुकद्दरका सिकन्दर’ लेखे, यसमा एक महत्वपूर्ण दृश्य थियो, जहाँ बालक अमिताभ रातको समयमा चिहानमा बसेर आमाको मृत्युमा रोइरहेका हुन्छन् । त्यही बाटो हुँदै कतै जान हिडिरहेका एक फकीर (कादर खान) ले बालकसँग भन्छन्– यो फकीरको एउटा कुरा याद राख्नु, जिन्दगीको सही आनन्द लिनु छ भने मृत्युसँग खेल, सुख त बेइमान हो, केही दिनका लागि आउछ र जान्छ, दुःख त हाम्रो आफ्नो साथी हो, आफैंसँग रहन्छ, आँसु पुछ, दुःखलाई अपनाउ । भाग्य तिम्रो कदममा हुनेछ र तिमी मुकद्दरका बादशाह बन्नेछौं।’
यो दृश्य कादर खानले आफ्नो घरनजिकैको त्यही चिहानबाट लिएका थिए ।
संवादका राजा कादर खान
कादर खानले सन् ७० को दशकमा संवाद लेखनदेखि लिएर फिल्ममा अभिनयमा निकै नाम कमाए । खुन पसीना, लावारिस, परवरिश, अमर अकबर एन्थोनी, नसीब, कुलीजस्ता फिल्ममा संवाद र पटकथा लेख्ने कादर खानले अमिताभ बच्चनको करिअरमाथि उठाउन ठूलो भूमिका निर्वाह गरे।
यद्यपि उनको सुरुवाती जिन्दगी निकै संघर्षपूर्ण रह्यो।
अफगानिस्तानमा जन्मिएका थिए उनी । जन्मनुअघि नै उनका ३दाजुहरुको मृत्यु भइसकेको थियो । सोहीकारण उनका बाबुआमाले अफगानिस्तान छाडेर भारत आउने निर्णय गरेका थिए । तर केही समयपछि नै बाबुआमाका सम्बन्धविच्छेद भयो र उनको जीवन सौतेनी बाबुसँग गरिबीमा बित्यो । यसबाबजूद उनले सिभिल इन्जिनियरिङमा डिप्लोमा गरे र मुम्बईको कलेजमा बच्चालाई पढाउन थाले ।
कलेजमा एकपटक नाटक प्रतियोगिता थियो र जहाँ नरेन्द्र बेदी र कामिनी कौशल निर्णायक थिए । त्यसमा उनले भाग लिए र उत्कृष्ट अभिनेता र लेखकको पुरस्कार प्राप्त गरे। त्यससँगै एक फिल्ममा संवाद लेख्ने मौका पनि पाए । जसको पारिश्रमिक थियो, १५०० रुपियाँ । सन् १९७२ को उक्त फिल्मको नाम थियो, जवानी दिवानी । त्यो निकै हिट भयो । त्यसपछि उनले रफ्फुचक्कर फिल्म पनि पाए ।
तर उनको जिन्दगीको ठूलो मोड १९७४ मा मनमोहन देसाई र राजेश खन्नाका साथ ‘रोटी’ मा काम गर्ने मौका पाएपछि भयो । खासमा सुरुमा मनमोहन देसाईलाई कादर खानको कामप्रति विश्वास थिएन । मनमोहन भन्थे, ‘तिमीहरु शायरी त राम्रो गर्छौ, तर मलाई यस्तो संवाद चाहियो, जसप्रति दर्शक ताली बजाउन् ।’
कादर खानले संवाद लेखेर मनमोहनलाई देखाए । त्यो संवाद उनलाई यति मन प¥यो कि उनले आफ्ना तोशिवा टीभी, २१ हजार रुपियाँ र ब्रेसलेट तत्काल उपहार दिए ।
पहिलोपटक कादर खानले संवाद लेख्न एकलाखभन्दा बढी पारिश्रमिक लिए । यहीबाट सुरु भयो मनमोहन देसाई, प्रकाश मेहरा र अमिताभ बच्चनसँग उनको शानदार यात्रा ।
कादर खानले लेखेको फिल्म र संवाद एकपछि अर्को हिट भए । अग्निपथ, शराबी, सत्तेपेसत्ताजस्ता फिल्म अमिताभका लागि उनले लेखे ।
अभिनय यात्रा
१९७३ मा उनी फिल्म दागमा एक वकिलको सानो भूमिकामा देखिए । १९७७ मा अमिताभका साथ पुलिस इन्स्पेक्टरको सानो भूमिका गरे । त्यसपछि खुन पसीना, शराबी, नसीब, कुर्बानीजस्ता सुपरहिट फिल्ममा काम गरे । भिलेनका रुपमा पनि उनको पहिचान बन्यो ।
कादर खानको एउटा विशेष कला थियो, उनी लिप रिडिङ गर्न सक्थे । अर्थात् टाढाबाट चलाएको ओठ हेरेर के बोलेको हो भनेर थाहा पाउन सक्थे । एक अन्तर्वार्तामा उनले भनेका थिए–सुरुका दिनमा जब उनी मनमोहन देसाईको घर जान्थे, उनलाई टाढैबाट हेरेर मनमोहन भन्थे, उल्लुको पठ्ठोले अझै बुझेन, फेरि आयो । अनि उनले मनमोहनलाई भन्थे तपाईंले मलाई यस्तो भन्नुभयो, म लिप रिडिङ गर्न सक्छु । पछि फिल्म नसीबमा यो दृश्यको प्रयोग गरियो । हिरोइनले भिलेनको लिप रिडिङ गर्ने दृश्य राखियो ।
एक समय अमिताभ र उनको निकै गहिरो मित्रता थियो । उनले अमिताभलाई लिएर फिल्म बनाउन चाहन्थे, नाम थियो, जाहिल । तरफिल्म बनाउनुअघि कुलीको सुटिङका क्रममा उनी घाइते भए । त्यसपछि राजनीतिमा प्रवेश गरे र फिल्म कहिल्यै बन्न पाएन । त्यसपछि उनीहरुको सम्बन्धमा चिसोपना आयो ।
१९८३ मा उनले फिल्म हिम्मतवाला लेखे र आफ्नो लागि कमेडी रोल पनि । त्यो बेला उनी आफ्नो भिलेनको परिचयबाट बाहिर आउन चाहन्थे । त्यहीबाट उनीको लेखन र अभिनयमा परिवर्तन सुरु भयो । ९० को दशकमा आइपुग्दासम्म उनले लेखनको गति घटाउन थालिसकेका थिए । तर डेभिड धवन र गोविन्दासँग उनको जोडी जम्न थाल्यो । त्यतिन्जेलसम्म पनि उनी आफ्नो संवाद आफै लेख्थे ।
मुख नबिगारीकनै दर्शकलाई कसरी हसाउनुपर्छ, उनलाई राम्रो थाहा थियो ।
उनले अभिनयसँगै उस्मानिया विश्वविद्यालयमा अरबी सिक्न पनि थाले । पछिल्लो एक दशकमा उनी फिल्मी दुनियाबाट पूर्ण रुपमा अलग थिए । अरबी सिकेपछिका ती दिन उनका दिन एकाकी तरिकाले बित्न थाले । स्वास्थ्यमा समस्या आएपछि उनी क्यानडामा छोराछोरीसँग बस्न थालेका थिए । त्यही नै उनको मृत्यु भयो ।