सुनोद श्रेष्ठको मुख्य भूमिकामा क्रिक्रेट फिल्म निर्माण हुने भएको छ। अष्ट्रेलियाको सिड्नीमा आयोजित कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसका सद्भावना दूत रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फिल्म निर्माण हुने जानकारी दिएका हुन्। कप्तान खड्काले खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा यसको घोषणा उत्साहजनक भएको बताए।
‘खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा क्रिकेट सम्बन्धी फिल्म निर्माणको खबर निकै उत्साहजनक छ फिल्ममा सफल क्रिकेटर बन्नका लागि गर्नुपर्ने संघर्षको कथा हुनेछ,’ खड्काले भने। मुख्य अभिनेता रहने श्रेष्ठ ठूलो पर्दामा पहिलोपटक देखिने भएका हुन्।
उनले २ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। श्रेष्ठले अष्ट्रेलियामा अभिनय सम्बन्धी विषयमा डिप्लोमा कोर्षसमेत गरेका छन्।