सविर श्रेष्ठ निर्देशित फिल्म ‘बाँध मायाले’को शिर्ष गीतको हालै छायांकन गरिएको छ। गीतको सार्वजनिक तस्बिरमा नायक आर्यन अधिकारीको अंगालोमा नायिका सृष्टि श्रेष्ठ बाँधिएकी छन्।
तस्बिरमा आर्यन र सृष्टिको जोडी निकै जमेको देखिन्छ। तस्बिर सार्वजनिक भएसँगै गीतप्रति चासो बढेको छ। अर्जुन पोखरेलले संगीत दिएको गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। कुलेखानी र राजधानीमा पाँचदिन लगाएर फिल्मको गीत खिचिएको निर्देशक श्रेष्ठले जानकारी दिए।
अर्को सातातिर गीत रिलिज गरिने उनले बताए। फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङलगायतको अभिनय छ। रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा निर्माण भएको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ। ‘बाँध मायाले’ फिल्म असोज ५ मा प्रदर्शन हुँदैछ।