वरिष्ठ कलाकार बीएस राणाको निधन भएको छ। श्वासप्रश्वासको समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राणाको शुक्रबार ७८ वर्षको उमेरमा निधन भएको हो।
चर्चित नेपाली चलचित्र ‘बसन्ती’ मा गरेको अभिनयका कारण राणा परिचित छन्। बरिष्ठ कलाकार राणाले चलचित्र ‘चिनो’, लाहुरे, करोडपति, दक्षिणा, बलिदान, सेतोबाघलगायत दर्जनौँ चलचित्रमा अभिनय गरेका छन्।
प्रधानमन्त्री पद्मशमशेरका नातीसमेत रहेका बीएले भारतको दार्जीलिङमा अध्ययन गरेका थिए। बेलायत, मुम्बई लगायत ठाउँमा पनि रंगमञ्चमा नाटक खेलेका कलाकार राणाले केही वर्षअघि कोर्टमार्शलमा अभिनय गरेका थिए।