भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको जीवनमा आधारित फिल्म ‘द एक्सिडेन्टल प्राइममिनिस्टर’ विवादमा परेको छ । फिल्मका निर्देशक विजयरत्नाकर गुट्टे, कलाकार अनुपम खेर, अक्षय खन्नालगायत १२ जनाविरुद्ध मुजफ्फरपुर प्रहरीमा एफआइआर दर्ता भएको हो ।
फिल्मले राजनीतिक हस्तीहरुको छवि खराब गरेको आरोप लगाउँदै एफआइआर दर्ता गरिएको हो । फिल्म निर्देशक गुट्टेले एफआइआरका बारेमा विस्तृत जानकारी नभएको भन्दै फिल्म रिलिज हुनुअघि यसबारेमा आपत्ती जनाइएको बताए । फिल्म गत जनवरी ११ मा रिलिज भएको थियो । उनले यो फिल्म पुस्तकमा आधारित रहेको र उक्त पुस्तक २०१४ देखि नै बजारमा उपलब्ध रहेको बताए । पुस्तकको विषयवस्तुलाई समाचार च्यानलहरुले प्रयोग गरिरहेको उल्लेख गर्दै उनले भने, ‘मैले बुझ्न सकेको छैन, मानिसहरुलाई अब फिल्मप्रति किन आपत्ती भएको हो ?’
निर्देशकका अनुसार फिल्म सेन्सर बोर्डले पनि सामान्य परिवर्तनपछि पास गरेको थियो । उनले पहिले पनि फिल्मका लागि विरोध सहनुपरेको भन्दै अब करिअरका क्रममा कहिल्यै पनि राजनीतिक फिल्म नबनाउने बताए ।
फिल्ममा पूर्व प्रधानमन्त्री मनमोहन सिंहको भूमिका अनुपम खेर र पुस्तक लेखक एवं सिंहका प्रेस सल्लाहकार सन्जय बारुको भूमिका अक्षय खन्नाले निभाएका छन् ।