आगामी माघ १५ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सूचना प्रविधि मेला आयोजना हुने भएको छ।
सूचना र प्रविधिका क्षेत्रमा भएका नयाँ प्रयोगबारे जानकारी दिने उद्देश्यले क्यान महासंघले आगामी काठमाडौंमा सूचना प्रविधि मेला आयोजना गर्न लागेको हो। क्यानले मंगलबार पत्रकार सम्मेलन गरी यस वर्षको मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना प्रविधि सम्वद्ध कम्पनीहरुको सहभागिता रहने जनाएको छ।
यस वर्ष शिक्षा स्वास्थ्य कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गर्ने प्रयास गरिएको महासंघका महासचिव रन्जित कुमार पोदारले जानकारी दिए। प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एस्सेसोरिज, डिलर र डिष्ट्रीबुसन, इन्टरनेट सेवा प्रदायक लगायत राखिने छ।
महासंघले यस वर्ष सातवटै प्रदेशमा सूचना प्रविधि मेला आयोजना गर्ने जनाएको छ। जसअनुसार विराटनगर मेला सम्पन्न भइसकेको छ भने वीरगञ्जमा पुस २७ देखि ३० गते, चितवनमा माघ २५ देखि २९, पोखरामा फाल्गुन २४ देखि २९, बुटवलमा फागुन २४ देखि २८ र सुर्खेतमा २४ देखि २८ गतेसम्म मेला आयोजना गर्नेछ।