आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेड काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौता भएको छ।
बैंक अस्योरेन्स सम्झौतामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र कैलाश विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
बैंक अस्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कैलाश विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने छन्।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ। कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ।
आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ।