पाराग्लाइडिङ व्यावसायिक र मनोरञ्जनमा सीमित नरही खेलको माध्यमबाट राष्ट्रको मान सम्मान पनि बढाउने भएकाले यसप्रति युवा बढी आकर्षित हुने देखिएको छ। इण्डोनेशियामा हालै सम्पन्न १८ औंँ एशियन खेलमा पहिलोपटक खेलको रुपमा सूचीकृत भएको पाराग्लाइडिङको प्रतिस्पर्धामा नेपालले रजत पदक प्राप्त गरेपछि युवा बढी आकर्षित हुने देखिएको हो।
अन्तर्राष्ट्रिय जगतमा पाराग्लाइडिङमार्फत नेपाल गौरव बढाउनमा पोखराकै पाराग्लाइडिङका पाँचजना खेलाडी विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा छन्। सो कारणले पनि पोखरामा व्यावसायिक रुपमा सञ्चालित पाराग्लाइडिङको भविष्य उज्ज्वल हुने नेपाल हवाई खेलकूद संस्थाका उपाध्यक्ष कृष्णप्रसाद भण्डारीले बताए।
अन्तर्राष्ट्रियस्तरमा प्राप्त यसपटकको सफलताले हावाको भरमा आकाशमा उड्ने पाराग्लाइडिङको व्यवसाय फस्टाउने सम्भावना बढेको देखिन्छ। यो व्यवसायको माध्यमबाट पोखरामा विदेशिका साथै आन्तरिक पर्यटक व्यापकरुपमा भित्रिएपछि होटेल, रेष्टुरेन्टलगायत समग्र क्षेत्रको आर्थिक गतिविधिमा बढोत्तरी हुनेमा व्यवसायी ढुक्क छन्।
प्रदेश सरकारले सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने निर्धारण गरिएको लक्ष्यमा पाराग्लाइडिङको माध्यमबाट पर्यटकलाई आकर्षित गर्न थप बल पुग्ने विश्वास गरिएको छ। पाराग्लाइडिङप्रति व्यवसायी बढी आकर्षित भएपछि बढी मुनाफाको व्यवसायमा यतिखेर घाटा हुन थालेको उपाध्यक्ष भण्डारीको भनाइ छ। पोखरामा यो खेल शुभारम्भमा नाफामुखी भएपनि यतिखेर अस्वस्थ्य प्रतिस्पर्धाका कारण अधिकांश कम्पनी घाटामा गइरहेका छन्।
सन् १९९८ मा स्थापना भएपछि अहिलेसम्म पोखरामा ६२ वटा कम्पनी यस व्यवसायमा संलग्न छन्। अत्यधिक कम्पनी भएपछि अस्वस्थ्य प्रतिस्पर्धा हुँदा यस व्यवसायमा घाटा हुनु स्वभाविक हो। नाफामुखी व्यवसायको रुपमा पुनःस्थापित गर्ने विषयमा व्यवसायी गहनरुपमा छलफल गर्नुपर्ने उपाध्यक्ष भण्डारीको सुझाव रहेको छ।
व्यवसायमा ६० लाखको गाडी, उपकरणका र ग्लाइडरको मूल्य ६ लाख गरी एक करोड रुपैयाँको लगानी गरेपछि सो अनुरुप हुनुपर्ने फाइदा नहुँदा व्यवसायी मारमा परेको उनले बताए। एक फ्लाइट उडाउँदा विदेशीबाट १२ हजार र स्वदेशीबाट आठ हजार रुपैयाँ रकम लिने भए पनि अस्वस्थ्य प्रतिस्पर्धाका कारण विदेशीबाट बढीमा पाँच हजार र स्वदेशीसँग बढीमा चार हजार ५०० मात्र लिने गरिएकाले यतिखेर यो व्यवसायमा घाटामा भइरहेको छ।
पाँच हजारबाट तीन हजार ५०० पाइलटलाई र एक हजार ५०० मा मूल्य अभिवृद्धि कर तिर्नुपर्दा व्यवसायीलाई कुनै लाभ नहुने भएकाले यो व्यवसाय फस्टाउन नसकेको बताइएको छ। पोखराको सराङकोटबाट खपाउँदीसम्म २० र तोरीपैनीदेखि चङ्खपुरसम्म ४२ गरी ६२ वटा कम्पनी पाराग्लाइडिङ व्यवसायमा संलग्न छन्। तातो हावाको चापमा उड्ने यसको आकासे दुरी दुई किलोमिटरको हुने गरेको छ। मौसम अनुकूल रहेको अवस्थामा दैनिक २५० देखि ३०० सम्म पाराग्लाइडिङको उडान हुने गरेको छ। बिहान १०ः३० देखि ४ः३० बजेसम्म उडानको समय निर्धारण गरिएको छ।
पाराग्लाइडिङ गर्नका लागि स्वदेशीका साथै युरोप, अमेरिका, चीन, अष्ट्रेलिया, बङ्गलादेश, भारतबाट आउने गरेका छन्। हालसम्मको तथ्याङ्कमा सबैभन्दा बढी चीनबाट आउने गरेका छन्। चीनमा निर्मित ‘अप विन द विन्ड’ चलचित्रका कलाकारहरुले पाराग्लाइडिङको सुटिङ पोखरामा गरेका थिए। सो चलचित्र निकै चर्चित भएपछि पाराग्लाइडिङ गरिएको स्थललाई खोजी गर्दै सो खेलको माध्यमबाट रोमाञ्चकारी अनुभव सङगाल्न चीनका युवा बढी पोखरा आउने गरिएको उपाध्यक्ष भण्डारीको भनाइ छ। रासस