नेपाल निर्माण व्यवसायी संघ कास्कीको अध्यक्षमा सुरेश श्रेष्ठ निर्वाचित भएका छन्। आइतबार बिहान घोषणा गरिएको निर्वाचन परिणाम अनुसार १४ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीमा भने मिश्रित परिणाम आएको छ।
लोकतान्त्रिक प्यानलबाट चुनाव लडेका श्रेष्ठले प्रगतिशील प्यानलका आनन्दराज बराललाई पराजित गरेर नेतृत्व हात पारे। श्रेष्ठले २ सय १० मत ल्याउँदा बरालले १ सय २३ मत पाए।
वरिष्ठ उपाध्यक्षमा प्रगतिशील प्यानलका रामराज अधिकारी निर्वाचित भए। उनले २ सय ६ मत ल्याउँदा लोकतान्त्रिक प्यानलका बलबहादुर रानाले १ सय २२ मत पाए। उपाध्यक्षमा प्रगतिशीलका हरि लम्साल १ सय ७० मतसहित विजयी हुँदा अर्को प्यानलका दीपेन्द्र मर्सानीले १ सय ५९ मत ल्याए।
सचिवमा प्रगतिशीलका सुवर्ण श्रेष्ठ १ सय ७५ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी टीका भुजेलले १ सय ४५ मत ल्याए। कोषाध्यक्षमा लोकतान्त्रिकका लीलकाजी गुरुङ निर्वाचित भए। उनले १ सय ८३ मत ल्याउँदा प्रतिस्पर्धी रवि खनालले १ सय ४० मत पाए। सहसचिवमा लोकतान्त्रिक प्यानलका शिरिषकुमार बास्तोला १ सय ६१ मतसहित विजयी हुँदा प्रतिस्पर्धी विनोद भण्डारीले १ सय ५२ मत पाए।
सहकोषाध्यक्षमा लोकतान्त्रिककै हिरामणी भण्डारी १ सय ७० मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी कृष्णप्रसाद ढकालले १ सय ४६ मत ल्याए।
सदस्यमा धु्रवबाबु भट्टराई, उत्तम सिग्देल, लक्ष्मण पाण्डे, हिक्मतजंग कार्की, ज्ञानेन्द्र घिमिरे र सञ्जय कुँवर विजयी भएका छन्।