लामो समयदेखि अन्योलमा रहेको पटना–जनकपुरधाम बस सेवा सुरू भएको छ। प्रदेश २ को अस्थायी राजधानी जनकपुर र बिहार राज्यको राजधानी पटना जोड्ने पटना–जनकपुरधाम बस सेवा मंगलबारदेखि सञ्चालनमा आएको हो।
विहारका मुख्यमन्त्री नितिश कुमारले पटनामा हरियो झण्डा देखाएर पटना–जनकपुर बस सेवाको शुभारम्भ गरेका हुन्। मंगलबार नै विहारको बोधगया र काठमाडौं बस सेवा पनि सुरू भएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भदौ ३१ गते जनकपुरबाट पटनाका लागि बस सेवाको उद्घाटन गर्ने कार्यक्रम छ। जनकपुर–पटना र काठमाडौं–बोधगयाको लागि दैनिक चारवटा बस सञ्चालन गरिने बताइएको छ।
भारत नेपाल बससेवा नाम दिइएको दुई मुलुकबीच भारतर्फबाट विहार सरकारको विहार राज्य पथ परिवहन विभाग र नेपालको स्वयम्भू मञ्जुश्री प्रालिले बस उपलब्ध गराएको जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले बताए। जनकपुरबाट छुट्ने बस भिठ्ठामोड, सीतामढी, मुजफ्फर हुँदै पटना पुग्नेछ भने काठमाडौंबाट छुट्ने बस वीरगञ्ज, रक्सौल, मोतिहारी, मुजफ्फरपुर हुँदै पटना पुग्ने छ।
जनकपुरबाट बिहान ७ र ९ बजे तथा राति ८ बजे र पटनाबाट अपरान्ह ३ बजे, बिहान ४ बजे तथा राति ९ बजे बस छुट्ने समय तालिका छ। यसैगरी, बोधगायाबाट काठमाडौंको लागि विहान १० बजे र काठमाडौंबाट बेलुका ८ बजे बोधगयाको लागि बस छुट्ने बताइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा सार्क सम्मेलनमा सहभागी हुन काठमाडौं आएका बेला जनकपुर–पटना र काठमाडौं–बोधगया बस सेवा सञ्चालन गर्ने घोषणा गरेका थिए। मोदीले घोषणा गरेको ४ वर्षपछि बस सेवा सुरू भएको हो। तर, यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुरबाट उद्घाटन गरेको जनकपुर–अयोध्या बस सेवा अझै सञ्चालनमा आउन सकेको छैन।
जनकपुर–पटनाको भाडा भारू. २७५, बोधगया–काठमाडौंको भाडा १ हजार २ सय ५० र काठमाडौं–पटनाको भाडा १ हजार १५ रूपैयाँ भारू निर्धारण गरिएको छ।