स्थानीयको अवरोधका कारण अवरुद्ध भएको चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम छ दिनपछि सञ्चालन भएको छ।
प्रभावित क्षेत्रका स्थानीयवासीले विभिन्न माग राख्दै गत आइतबारदेखि निर्माणकार्य ठप्प बनाएका थिए। आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुका साथै काममा समेत अवरोध गरेका स्थानीय र वार्ता टोलीबीच शुक्रबार भएको छलफलपछि निर्माणकार्य सञ्चालन गर्ने निर्णय भएको हो। आयोजनाको सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा घर चर्किएको भन्दै स्थानीयवासी आन्दोलित भएका थिए।
वार्तामा विभिन्न चार बुँदे सहमति भएको छ। चर्किएका घर आयोजनाका कारण हो या होइन भन्ने बारेमा भूगर्भविद् ल्याएर चेकजाँच गर्ने, अहिलेसम्म भएको क्षतिको आयोजनाले क्षतिपूर्ति दिने र भूगर्भविद्ले दिएको विवरणको आधारमा सम्भावित क्षतिको क्षतिपूर्ति आयोजनाले व्यहोर्ने र आयोजनास्थलमा निर्माण गरिएको सडकलाई आयोजनाको लागतमा स्तोन्नति गर्ने लगायतका निर्णय गरिएको आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिए।
वार्तामा सरोकार समितिका संयोजक खिमबहादुर खत्री र उपाध्यक्ष भुलबहादुर पौडेल, आयोजना प्रमुख निरञ्जन राउत, जनसम्पर्क अधिकृत अशोक आचार्यलगायत मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, प्रवक्ता विमल लामिछाने र वडाध्यक्ष विकास तिमिल्सिनालगायतको सहभागिता रहेको थियो। स्थानीयवासीले सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा सुरुङमार्गको माथि पर्ने १६ घरमा क्षति भएको भन्दै उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका थिए।
मोदी गाउँपालिका–२ देउपुरस्थित ठाना, कल्लेनी र ओख्ले प्रभावित क्षेत्रमा छन्। ती बस्तीमा ५७ घर रहेका छन्। भूकम्पले जस्तै गरी चर्किन थालेपछि आन्दोलनमा उत्रिनुपरेको सरोकार समितिका उपाध्यक्ष भुलबहादुर पौडेलले बताए।