प्रदेश २ को अस्थायी राजधानी जनकपुर र विहारको राजधानी पटना जोडने जनकपुर–पटना बस सेवा सञ्चालनमा आएको छ। मुख्यमन्त्री लालबाबु राउतले आइतवार हरियो झण्डा देखाएर पटना–जनकपुरधाम बस सेवाको उद्घाटन गरेका हुन्।
नेपाल–भारत मैत्री बस सेवा नाम दिइएको उक्त बस मञ्जुश्री प्रालिले बस उपलब्ध गराएको छ। जनकपुरबाट छुट्ने बस भिठ्ठामोड, सीतामढी, मुजफ्फर हुँदै पटना पुग्ने रूट निर्धारण गरिएको हो। जनकपुरबाट बिहान १० बजे तथा राति ८ बजे बस छुट्ने तथा पटनाबाट जनकपुरका लागि अपरान्ह ३ बजे, बिहान ४ बजे तथा राति ९ बजे बस छुट्ने समय तालिका छ।
जनकपुर–पटनाको भाडा भारू. २७५ निर्धारण गरिएको छ। बस सेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले नेपाल–भारत मैत्री बस सेवाले नेपाल र भारतबीचको सम्बन्ध अझै प्रगाढ हुने बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा सार्क सम्मेलनमा सहभागी हुन काठमाडौं आएको बेला जनकपुर–पटना र काठमाण्डौं–बोधगया बस सेवा सञ्चालन गर्ने घोषणा गरेका थिए।
मोदीले घोषणा गरेको ४ वर्षपछि बस सेवा शुरू भएको हो। तर, यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुरबाट उद्घाटन गरेका जनकपुर–अयोध्या बस सेवा अझै सञ्चालनमा आउन सकेको छैन।