स्याङ्जाको फेदीखोला गाउँपालिकाले सिद्धार्थ राजमार्ग अन्तर्गतको भालु पहाडलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न छलफल सुरू गरेको छ। पोखरादेखि २८ किलोमिटर दूरीमा रहेको भालुपहाड पर्यटकीय योजना समेत गाउँपालिकाले बिहीबार सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले आवश्यक भौतिक पूर्वाधार विकास गरेर भालु पहाडलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने घोषणा गरे।
फिल्म सुटिङ, पिकनिक स्पटको रूपमा रहेको त्यस ठाउँमा गाउँपालिकाले बाल उद्यान, बगैचा चमेनागृह निर्माण गर्नेदेखि शिव तथा बुद्ध मूर्ति स्थापनाको अवधारणा अगाडि सारेको छ। अध्यक्ष सुवेदीले नजिकैको सेती खोलमा झर्नपदमार्ग बनाउने र नदीमा स्टिमर चलाउने योजना सार्वजनिक गरे। पर्वतको कुश्मामा जस्तै अत्याधुनिक झोलुङेपुल निर्माणदेखि नजिकैको बस्तीहरूमा ग्रामीण होमस्टेको विकास गर्ने अवधारणा गाउँपालिकाको छ।
अध्यक्ष सुवेदीले प्रस्तावित सबै परियोजना पूरा गर्न ४५ करोड लागत लाग्ने जानकारी दिए। ‘गाउँपालिकाको वार्षिक बजेटभन्दा ठूलो लगानीको परियोजना सञ्चालन गर्ने तयारी गरेका छौं,’अध्यक्ष सुवेदीले भने, ‘सार्वजनिक, निजी क्षेत्र र व्यक्तिगत लगानीको अवधारणा अन्तर्गत काम थालेको साढे ३ वर्षमा परियोजना पूरा गर्ने लक्ष्य अगाडि सारिएको छ।’ उनले पर्यटन प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन गरे पनि विस्तृत परियोजना प्रतिवेदन तयार नभएको जानकारी दिए। उनले परियोजना निर्माणबारे गाउँ कार्यपालिकाले निर्णय गरी नसकेको बताए।
अध्यक्ष सुवेदीले परियोजना पूरा भए एक सयदेखि एक सय ५० जनालाई रोजगारी दिन सकिने उल्लेख गरे। परियोजनालाई सफल बनाउन सबै स्थानीय तहसँग हातेमालो गर्ने जानकारी दिँदै उनले गण्डकी प्रदेश तथा संघीय सरकारसँग सहयोगका लागि आग्रह गर्ने बताए। ड्रिम डेभलोयर्स प्रालि हरिहरभवन पुल्चोकले भालु पहाडको पर्यटन प्रर्वद्धनका लागि सम्भाव्यता अध्ययन गरेको छ।
प्रालिका इन्जिनियर सन्दीप डोटेलले हिन्दु र बुद्ध धर्मावलम्बीलाई लक्ष्य गरी भगवान शिव र बुद्धको मूर्ति राख्न प्रस्ताव गरिएको जानकारी दिए। लुम्बिनीदेखि मुक्तिनाथसम्म भ्रमण गर्ने तीर्थयात्रीलाई लक्षित गरेर संरचना बनाउन लागेको जानकारी दिँदै उनले त्यस ठाउँलाई धार्मिक सहिष्णुताको हिसाबले विकास गर्ने सोचाई रहेको बताए।
२३ फिट उचाइका दुई मूर्तिलाई जोड्ने ८ मिटर अग्लो र १४ मिटर लामो पुलको अवधारणा अगाडि सारेको उनले उल्लेख गरे। बाल बालिका, युवा र जेष्ठ नागरिकहरूलाई लक्ष्य गरी भौतिक संरचना निर्माण गर्ने योजना सुनाउँदै डोटेलले राजमार्गमा रहेको भालुपहाडलाई ट्रान्जिट टुरिजमको विकास गर्न सकिने बताए। उनले जिफ्लायर, बन्जीजम्प, जलपर्यटनको समेत सम्भावना रहेको औल्याए।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले फेदीखोला गाउँ पालिकाको रचनात्मक र सिर्जनात्मक सोच भएकाले सबैले सहयोग गर्नुपर्ने बताए। उनले परियोजनाका लागि प्रदेश सरकारले समपुरक अनुदान दिन सक्ने उल्लेख गर्दै उनले फेदीखोलाको सिर्जनात्मक कामलाई सबै गाउँपालिकाले सिको गर्न पर्ने धारणा राखे।
फेदीखोला गाउँपालिकाका उपप्रमुख देवी थापाले प्राकृतिक हिसाबले महत्वपूर्ण सो ठाउँ अहिलेसम्म ओझेलमा परेको बताइन्। उनले भालु पहाडमा भौतिक पूर्वाधार निर्माण गरेर पर्यटकीय गतिविधि बढाएपछि त्यस क्षेत्रका जनताको आर्थिक अवस्था सुदृढ हुने दाबी गरिन्।