जुम्लाको पातारासी गाउँपालिका–१ गडीगाउँमा चुकेनी साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसअघि ५ सय किलोवाट जलविद्युत् निकाल्ने डिजाइन स्टिमेट गरिएको उक्त जलविद्युत् आयोजना अब भने एक मेगावाट निकाल्ने तयारी गरिएको छ । यसका लागि भदौ महिनाको पहिलो सातासम्म टेण्डर हुने आयोजना निर्माण समितिका अध्यक्ष गोरबहादुर बुढाले जानकारी दिए ।
आयोजना निर्माणा गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट २५ करोड ९९ लाख तीन हजार ५ सय ४९ बजेट छुट्याइसकेको छ ।
एशियाली विकास बैंकको अनुदान सहयोगमा नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरमार्फत यो आयोजना निर्माण हुन थालेको परियोजना इन्जिनियर ब्रिटिश सिंहले जानकारी दिए ।
इञ्जिनियर सिंहले विद्युत् गृहका लागि २६ करोड र ट्रान्समिसन लाइनका लागि १० करोड लागत बजेट रहेको बताए । विसं २०६९ देखि पहल थालिएको उक्त आयोजना निर्माणका लागि प्रदेश सरकारले योगदान दिने आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिएका छन् ।
विद्युत् निर्माण भएमा पातारासी गाउँपालिकाका तीन हजार ३ सय २० घरधुरीका करीब १६ हजार जनताले प्रत्यक्ष लाभ लिने जनाइएको छ । उक्त लाइन सदरमुकाम जुम्ला खलंगासम्म ल्याउने तयारी भइरहेको आयोजना निर्माण समितिका अध्यक्ष बुढाले बताए ।