नेपालीहरुको महान चाडबाड नजिकिएसँगै खसी बोकाको ब्यापार बढ्न थालेको छ।
हिन्दू नेपालीको महान पर्ब दशैं तिहार नजिकिएपछि स्थानीयले खसीबोकाहरुको जोहो गर्न थालेका छन्। चाडबाड नजिकिए सँगै तेह्रथुम लगायत देशै भरको बजारहरुमा खसीबोकाहरुको ब्यापार बढ्दो रहेको छ। दशै खर्च जुटाउन जोहो गरी राखेका खसी बोका बिक्री गर्नहरुको ताँतीहरु बजारहरुमा देखिन थालेका छन्।
आफ्ना नानीहरुलाई लुगा कपडाका साथै मिठो मसिनो खुवाउनकै लागी भए पनि घरमा खर्चका लागि जोहो गरेको खसी बोका बिक्री गर्न लागिएको हो। तेह्रथुम सदरमुकाम म्याङलुङका साथै क्षेत्रीयस्तरमा रहेका बसन्तपुर, शुक्रबारे, जिरीखिम्ती, आैंशी बजार, संग्रान्ती मोराहाङ बजार लगायतका स्थानहरुमा भीडभाड बढ्न थालेको छ।
बजारमा लाग्ने हटीयामा खसीबोका बिक्री गरेर चाड मनाउने साेंच बनाएको म्याङलुङ नगरपालिका ७ का आइत बहादुर कार्कीले बताए। ‘घरमा २ वटा खसी पालेको छु २ वटा बिक्री गरेको चाड मनाउने सोँच छ।’ उनले भने।
शुुक्रबारे बजारमा खसी बिक्रीका लागि पुगेका खिनराज लिम्बुले भने घरमा दशैका लागि बंगुर तयार गरेको बताए। कार्की र लिम्बु जस्तै हजारौ नेपाली यतीबेला चाडबाड खर्च जुटाउन खसी बोका बिक्रीमा लागी परेका छन। तेह्रथुमका खसी बोका खरिदका लागि जिल्ला बाहिरबाट ब्यापारीहरु प्रशस्तै मात्रमा छिर्न थालेको स्थानीयहरुले बताउने गरेका छन्।
यहाँका स्थानीयहरुले पाल्दै आएका खसी बोका सामान्यतया ५ हजार देखी ३० हजार सम्ममा खरिद बिक्री हुने गरेका छन्। बिगतका बर्षहरुको तुलनामा यस बर्ष खसीबोकाको ब्यापार बढ्दो रहेको ब्यापारीहरुले बताउने गरेका छन।
बिशेषगरी पहाडी क्षेत्रमा पालीएका खसी बोकाको मासु मिठो स्वादिलोका साथै राम्रो हुने भएकाले पनि खरिदका लागी तेह्रथुमलाई रुचाउने गरेका छन्। अरुबेला २०-२५ वटा खसीबोका बिक्री हुने बजारमा अहिले १ सय देखी ३ सयसम्म खसीबोका बिक्री हुँदै आएका छन्।