एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशमा मिल्क होलिडेमार्फत दैनिक खेर गइरहेको दुधलाई व्यवस्थापन गर्न प्रदेश सरकारले पाउडर प्लान्ट जडान गर्न लागेको बताएका छन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विराटनगर–१० मा स्थापना गरेको पशुपंन्छी तथा मत्स्य विकास निर्देशनालय कार्यालयको बिहीबार उद्घाटन गर्दै उनले विराटनगरस्थित दुग्ध विकास संस्थान केन्द्रको परिसरमा यसै आर्थिक वर्षमा प्रदेश सरकार पाउडर प्लान्ट जोड्ने तयारी गरिरहेको बताएका हुन्।
मिल्क होलिडेमार्फत एक नम्वर प्रदेशमा वार्षिक उत्पादन भएका एक लाख लिटरभन्दा बढी दुध विक्री नभएर खेर गइरहेकाले पनि पाउडर प्लान्ट आवश्यक रहेको उनले बताए। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत रहेका मुख्य मन्त्री राईले कृषिको आधुनिक व्यवसायिक उद्योगको रुपमा विकास गरी रोजगारी प्रदान गर्ने गरी सरकारले योजना ल्याउन लागेको बताए।
आर्थिक समृद्धिका लागि कृषिको विकास आवश्यक रहेकोमा जोड दिँदै मुख्यमन्त्री राईले एक नम्वर प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन किसानसँग छलफल गरेर नीति निर्माण गर्नु पर्ने बताए।
कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षण गर्न आधुनिक सिप र प्रविधिको विषयमा ज्ञान दिनु पर्नेमा जोड दिए।
प्रदेशका मुख्य सचिव केदार न्यौपानेले प्रदेशको कृषि उत्पादन वृद्धि गर्न सरकारले ज्ञान केन्द्र र कृषि विज्ञ टोलीको गठन गरी आवश्यक छलफल शुरु गरेको जानकारी दिए।
स्थापना गरिएको कार्यालयले प्रदेशका १४ जिल्लामा पशुपंन्छी तथा मत्स्य उत्पादन वृद्धिका लागि अनुगमन, निरीक्षण र स्थलगत रुपमा प्राविधिक सहयोग कृषकलाई उपलव्ध हुने जनाइएको छ। प्लान्ट जडानका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ छुट्याएको छ।