नेपालीहरुको महान चाड दसैँ सुरु हुन दुई दिनमात्रै बाँकी छ। जनकपुरको दुर्गा पूजा प्रत्येक वर्षझैँ यो वर्ष पनि हर्षोल्लासका साथ दसैं मनाउने तयारी छ। दसैं मनाउन यहाँका स्थानीय युवा क्लबहरु जोडतोडले तयारीमा जुटेका छन्।
प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्ति स्वरुपा दुर्गाको मूर्ति स्थापना गरी भव्यताका साथ दसैंमा पूजाअर्चना गर्ने गरिन्छ। राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोक, पिडडिया माइस्थान, वौधीमाई रजौल लगायत विभिन्न चोक–चोकमा मूर्ति स्थापना गरी पूजा गरिने ठाउँहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्ब लाइट लगाउने कार्य गरिँदै छ।
तर, एडिबीको ऋण सहयोगमा जनकपुरमा सञ्चालित एकीकृत सहरी विकास परियोजना अन्तर्गत निर्माण भइरहेको सडक दसैं मुखमै आइपुग्दा समेत बन्न नसकेपछि मन खिन्न छ, यहाँका व्यपारीको। बजारमा पुग्न अझैपनि सडक निर्माण हुन नसकेपछि दसैंका लागि किनमेल गर्ने सर्वसाधारणको चहलपहल छैन।
सडक विस्तारका क्रममा भत्काइएका घरहरु मर्मत हुन नसकेपछि करोडौं घाटा सहेर सटर बन्द गरेर बसेका छन्, जनकपुरका व्यापारीहरु। करिब एक वर्षदेखि जनकपुरको व्यवसाय नै धरासायी भएको छ। ६ महिनादेखि कतिपय व्यापारीले पसलको ताल्चा समेत खोल्न पाएका छैनन्। सुनसान देखिएका छन्, जनकपुरका मूल व्यापारिक क्षेत्र भानुचोक, जनक चौक र जानकी चौकको सडक, राम मन्दिरदेखि जानकी मन्दिरको बाटो र जानकी मन्दिरदेखि महावीर चोकको बाटो।
सडक विस्तारका कारण व्यवसाय खस्किँदै गएपछि ऋण र कर्जाको दबाब थेग्न नसकेर केही व्यापरी विस्थापित भएका छन् भने केही भारतसमेत पलायन भएका छन्। जनकपुरधाम उपमहानगरभित्र सञ्चालनमा रहेका करिब १० हजार पसलको व्यवसायमा पोहोर भन्द यो वर्ष ८० प्रतिशतले फरक परेको देखिएको छ। दसैंंमा लाखौंको आम्दानी गर्ने यहाँका कपडा र सुनचाँदी व्यवसायीहरु सबैभन्दा बढी मारमा परेका छन्। दसैंतिहारका बेला सुनचाँदी खरिद बिक्री गर्ने जनकपुरका अधिकांश पसल सञ्चालनमा नै छैनन्।
‘सडक निमार्णले घर भत्किए, ५ महिनादेखि सटर बन्द छ। पहिले आएको १४ लाखको माल (कपडा) जस्ताको त्यस्तै थन्किएको छ। १८ वर्षदेखि जनकचोक जानकी चोकको बीचमा कपडा पसल सञ्चालन गर्दै आएका भोला साहले भने,‘ऋणको ब्याज तिर्न सकिरहेका छैनौं। ऋण कसरी तिर्ने? हाम्रो क्षतिपूर्ति कसले दिने?’
दसैंको मुखमा पनि सकड निर्माण हुन नसक्दा पसलमा ग्राहक नै नआउने गरेको रेडिमेड लुगा बेच्दै आएका अविनाश झाले बताए। भानुचोक स्टेशनबाटोमा बुटिक सञ्चालन गर्दै आएकी रीतु अग्रवाल भन्छिन्,‘सडक अवरुद्ध भएपछि यो वर्षको दसैंतिहार यतिकै जाने भयो। गत वर्ष यो समयमा दसैंको बजार सुरु भइसकेको हुन्थ्यो। तर, यसपालि केही अतोपते छैन,’उनले भनिन्,‘सामान पसलसम्म आउँदैन र सामान लिन आउने ग्राहकलाई सहज पर्ने बाटो पनि छैन।’ सुनचाँदी व्यवसायी अमर ठाकुरले सडक चाँडो बनाउन कसैले चासो नदेखाएको बताए।