नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्रको घरायसी तथा मृत्यु नामसारी गर्ने जिम्मेवारी सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) लाई दिएको छ।
बोर्डले सिडिएससीले पेश गरेको धितोपत्र केन्द्रिय निक्षेप सेवा विनियमावली, २०६८ तेस्रो संशोधन प्रस्तावलाई स्वीकृत गरी धितोपत्रको घरायसी तथा मृत्यु नामसारीको जिम्मा दिएको हो।
यस अघि सूचिकृत धितोपत्रको कारोबार, राफसाफ तथा नामसारी लगायतको तीन ओटै कार्यहरु नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले गर्ने गरेको र सोही बमोजिम सूचिकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी कार्य समेत नेप्सेको सिफारिसमा सम्बन्धित सूचिकृत कम्पनीबाट हुने गरेको थियो। सिडिएससीको स्थापना पश्चात धितोपत्रको राफसाफ तथा नामसारी कार्य सिडिएससीले गरे पनि घरायसी तथा मृत्यु नामसारी कार्य भने नेप्सेले नै गर्दै आएको थियो।
बोर्डका अनुसार सिडिएससीले धितोपत्रको राफसाफ तथा नामसारी कार्य स्वचालित प्रणालीमार्फत गरिरहेको एवम् धितोपत्रको अभौतिकिरण भए पश्चात घरायसी तथा मृत्यु नामसारी सम्बन्धी कार्य नेप्सेले गर्दा धेरै समय लाग्ने, अनावश्यक झण्झट वेहोर्नु पर्ने लगायतका विविध कठिनाई शेयरधनीहरले व्यहोरिरहेकाले सिडिएससीलाई नै यसको जिम्मेवारी दिइएको हो।
बोर्डले स्वीकृत गरेको नियमावली अनुसार भौतिक, अभौतिक धितोपत्रको घरायसी नामसारी गर्न र मृत्यु पश्चातको धितोपत्र नामसारी गर्न सम्बन्धित निवेदकले विनियमावलीमा तोकिए बमोजिमको फारम भरी निक्षेप सदस्यकोमा सम्बन्धित कागजात सहित निवेदन दिनुपर्ने र निवेदन प्राप्त भए पश्चात निक्षेप सदस्यले त्यस्तो निवेदन तथा सङ्लग्न कागजातहरु रुजु गरी सिडिएससीको प्रणालीमा प्रविष्टि गर्नेछन्। निक्षेप सदस्यले प्रणालीमा प्रविष्टी गरे पश्चात प्रणालीबाट उपलब्ध हुने विवरण सहित निवेदन तथा सङ्लग्न सम्पूर्ण कागजात आवश्यक कारबाहीका लागि सिडिएससीमा पेश गर्नु पर्ने प्रावधान विनियमावलीमा छ।