नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरन काठमाडौं अाइपुगेका छन्। आइतबार राति ११ बजे काठमाडौं आइपुगेका उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालले स्वागत गरेका थिए।
सोमबार अाज काठमाडौंमा हुने विशेष कार्यक्रममा नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने छ। त्यसका लागि अाइतबार बसेकाे मन्त्रीपरिषद बैठकले नेपाल र मलेसियाबीच कामदार भर्ना तथा रोजगारी सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई दिइसकेकाे छ।
सम्झौतापछि वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्नेछ। यससँगै मलेसिया जाने नेपाली कामदारले छनोट प्रक्रियामा शुल्क तिर्नुपर्ने छैन।
रोजगारदाता देशलाई कामदारप्रति जवाफदेही बनाउँदै नेपाली कामदारले अधिकतम् लाभ प्राप्त गर्ने गरी सम्झौतामा हस्ताक्षर हुन लागेको श्रम मन्त्रालयलका प्रवक्ता डाक्टर नारायण रेग्मीले बताए।
श्रम सम्झौतामा हस्ताक्षर भए पनि नेपाली कामदारका लागि मलेसियाको रोजगारी खुल्न भने केही समय लाग्ने जनाइएकाे छ।
नेपाल सरकारले कामदारसँग अवैध शुल्क लिदै आएको एजेन्सी खारेज गरेसँगै छ महिनादेखि नेपाली कामदारहरु मलेसिया जान पाएका छैनन्। नेपालबाट रोजगारीका मलेसियामा ५ लाख नेपाली कामदार रहेका छन्। मलेसियामा सबैभन्दा बढी नेपाली सुरक्षा गार्डका रूपमा कार्यरत छन्।