दसैं, तिहार र छठलाई लक्षित गरेर सञ्चालित सुपथ मूल्यका पसलका लागि आएको चिनी साल्ट ट्रेडिङ्गको गोदाममै थन्किएको छ।
सरकारले मूल्य निर्धारण नगर्दा सरकारी संस्थान साल्ट ट्रेडिङ्गले सुपथ मूल्य पसलबाट सहुलियत दरमा चिनी बिक्रि गर्न नसकेर गोदामै थन्किएको हो। चिनीको मूल्य निर्धारण नभएपछि ट्रेडिङ्गले सुदूरपश्चिम प्रदेशका सात ठाउँमा सञ्चालन भइरहेका सुपथ मूल्य पसलमा नुनमात्र बिक्रि भइरहेको जनाएको छ।
सुदूरपश्चिम प्रदेशका ७ स्थानमा नेपाल साल्ट टेड्रिङ कर्पाेरेशन क्षेत्रीय कार्यालय धनगढीले सुपथ मुल्यका पसलहरु सञ्चालन गरिहेको छ। असोज १२ गते देखि कात्तिक २७ गतेसम्मका लागि सञ्चालन आएका सुपथ मुल्यका पसलहरुमा हालसम्म नुन मात्रै बिक्रि भइरहेको छ।
सुपथ मूल्यका पसलबाट दसैं अघिदेखि नै चिनी बिक्रि गर्ने तयारी भएपनि आपूर्ति मन्त्रालयको निर्देशनपछि हाल पसलहरुमा चिनी बिक्रि गर्न रोकिएको साल्ट ट्रेडिङ्ग क्षेत्रीय कार्यालय धनगढी प्रमुख सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेयले बताए।
साल्ट ट्रेडिङ्गको क्षेत्रीय कार्यालय र अन्य ठाउँमा रहेका डिपोमा करिब साढे ५ सय क्विन्टल चिनी झण्डै एक महिनादेखि थन्किएको छ। ‘मूल्य निर्धारण नभएको भन्दै चिनीको बिक्रि वितरण रोक्न असोज १४ गते आपूर्ति मन्त्रालयले निर्देशन दिएकाले हालसम्म चिनी बिक्रिको काम अघि नबढेको हो।
सरकारले चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्यका पसलबाट बिक्रि गर्न चिनीको मूल्य प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरेको थियो। तर, संसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएपछि अहिले देशभरनै सुपथ मूल्य पसलबाट चिनीको बिक्रि वितरण रोकिएको हो। यस वर्ष सुपथ मूल्य पसलमा चिनी बिक्रि नभएका कारण साल्ट सुनसान बनेको साल्ट ट्रेडिङ्गका कर्पेरशेनका सहायक महाप्रबन्धक पाण्डेयले बताए।
७७ रुपैयाँ प्रतिकिलोमा आयात गरिएको चिनी ६३ रुपैयाँमा बेच्दा साल्ट ट्रेडिङ्गनै टाट पल्टिने भन्दै बिक्रि रोकिएको बताइएको छ। चाडपर्वमा अरुबेला भन्दा चिनीको खपत बढी हुन्छ। सरकारले हरेक वर्ष दसैं, तिहारका बेला सर्वसाधारणलाई सहुलियत दिन बजारको भन्दा कम मूल्यमा चिनी र नून बिक्रि गर्दै आइएको छ। तर, यसपटक सुपथ मूल्यका पसलबाट चिनी बिक्रि नभएपछि बजारबाट महँगोमा चिनी किन्नुपरेको गुनासो सर्वसाधारणले गरेका छन्।
साल्ट ट्रेडिङ्गले चिनीको मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको थियो। धनगढीमा अहिले चिनीको मूल्य प्रतिकिलो ८० रुपैयाँ र पहाडी जिल्लामा प्रतिकिलो ९५ रुपैयाँसम्म पर्छ। चाडपर्वका बेला बजारमा चिनीको मूल्यमा व्यापारीको मनोमानी छ। तीमध्ये ५ ठाउँमा चिनी पु¥याइएको साल्ट ट्रेडिङ्गले जनाएको छ।
गत वर्ष दसैं–तिहारका अवसरमा सुदूरपश्चिम प्रदेशमा सञ्चालन गरिएका सुपथ मूल्य पसलबाट साल्ट ट्रेडिङ्गले १ लाख ३९ हजार ७ सय ७३ किलो चिनी र ९७ हजार ८ सय ६५ किलो नून बिक्रि गरेको थियो।