उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ नाईचे गाउँ न्यादी हाइड्राेको लापरवाहीले जोखिममा पर्न थालेकाे छ। गाउँ नजिकैको निर्माणधीन हाइड्राेपावरले सुरूङ खन्दा लगातार बम विस्फोट गरेपछि गाउँ नै जोखिममा पर्न थालेकाे हाे।
गुरूङ समुदायमात्र बासोबास गर्ने नाईचे गाउँमा ६६ घरधुरी रहेका छन्। ३० मेगावट न्यादी हाइड्राे पावरले सुरूङ खन्ने क्रममा विभिन्न स्थानमा बम विस्फोट गर्दा घरहरू चर्किन थालेपछि स्थानीय त्रसित भएका छन्। गाउँवाट करिब १ सय ३० मिटर नजिक सुरूङ खन्दा गाउँमा ठुलो आवाज आउनुका साथै घरहरूमा थर्किने भएकोले दिनप्रति दिन जोखिम बढ्दै गएको छ।
गाउँ नजिकै सुरूङको ब्रेक थ्रू राखेकोले चौविसै घण्टा गाउँमा ठूलो आवाज आउने गरेको स्थानीय तुलसीरा गुरूङले बताइन्। बालबालिकाहरूलाई पढ्न र लेख्न निकै समस्या भएको छ। गाउँमा नयाँ पाहुन आउँदा रातभरी निदाउँदैनन्। सुरूङ नजिक भएको ब्रेकथ्रू चोवीसै घण्टा सञ्चालन हुन्छ। स्थानीयलाई आवाजको बानी परेको हुनाले खासै चासोको विषय बन्दैन। स्थानीय स्तरमा पाईने ढुंगा र माटोबाट बनेको घर चर्कदा अहिले चिन्ता लोगेको स्थानीयको भनाइ छ।
२०७२ सालको महाभुकम्पले नाईचे गाउँलाई असर गरेन। तर, गाउँलाई हाइड्राे पावरको सुरूङभित्र बम विस्फोट गरेपछि निकै ठूलो असर परेको स्थाननीय बताउँछन्। घरहरू चर्किन थालेपछि कति बेला के हुने हो थाहा नभएको स्थानीय लक्ष्मी गुरूङ बताइन्। उनी भन्छिन्,'हाइड्राेलाई धेरै पटक जानकारी गराए पनि कुनै चासो दिएको छैन।' कतिपय घरहरू उच्च जोखिम रहेको उनको भनाइ छ।
ढुङ्गा र माटोले बनाएको घरमा आफै कतैकतै चर्किने स्वभाविक भएपनि सुरूङभित्र बम विस्फोट गर्दा गाउँलाई खासै असर नगरेको हाइड्राे सञ्चालकहरू बताउँछन्। स्थलगत निरीक्षण गरेपछि जोखिम घरहरूलाई तत्काल पुनर्निर्माण गर्ने न्यादी हाइड्राे पावर कम्पनीका प्रोजेट म्यानेजर उत्तम आमत्यले बताए।
'गाउँमा हाइडोपावर आयो अहिले जा भन्न पनि भएन। त्यसो भन्दा हामीलाई विकास विरोधी भन्लान्,'भिमबहादुर गुरूङले भने,'अहिले हामीलाई सुरक्षित स्थानमा सारेर काम गरेको भए खतरा पनि कम हुन्थ्यो।' अहिले स्थानीय गाउँ छोडेर जान पनि सकेका छैनन्। हाइड्रोपावर सञ्चालकले पनि कुनै पनि कदम उठाएको छैन।
स्थानीयले समय समयमा आन्दोलनमार्फत माग गर्दै आएका छन्। तर, हाइड्रो पावर सञ्चालकहरूले सिमेन्टको व्यवस्था गरिदिने र आफैं मर्मत गर्न भनेको स्थानीय बताउँछन्। अधिकांश स्थानीयको माग भने परापूर्वकालदेखि आफूहरू बस्दै आएको थाकथलो पुनर्निर्माण हुनुपर्ने अडान राखेका छन्।
स्कुले बालबालिकालाई प्रत्यक्ष असर
मस्र्याङ्दी गाउँपालिका–६ नाईचे गाउँमा नयाँ ज्योति आधारभुत स्कुलमा करिब ४० जना विद्यार्थीहरू अध्ययनरत छन्। स्कुल नजिकै सुरूङको बेक्र थ्रू राखिएको हुदाँ ठूलो आवाजले विद्यार्थीहरूलाई पढाइलाई मात्र होइन शारीरिक र मानसिक रूपमा पनि प्रत्यक्ष असर पारेको स्कुलका प्रध्यानध्यापक कविजङ गुरूङले बताए। गुरूङ भन्छन्,'सुरूङभित्र बम विस्फोट हुँदा विद्यार्थीहरू डरले भागभाग गर्दा नियन्त्रण गर्न गाह्रो हुन्छ।'
बालबालिकाहरू स्कुलमा शान्त वातरवरणमा पढ्न पाउने अधिकार राज्यले सुनिश्चित गरेपनि नयाँ ज्योति आधारभूत स्कुल नाईचेमा विद्यार्थी भने सधैँ डर, त्रास र कोलहलमा पढ्न बाध्य छन्। मुलुकका कर्णधार मानिएका बालबालिका शिक्षा आर्जन गर्ने बेलामा त्रासदीपूर्ण वातावरणप्रति सम्बन्धित निकायको ध्यान जान जरूरी देखिएको छ।