अर्थमन्त्री डा. युवराज खतिवडाले कुनै पनि परियोजनाका लागि पर्याप्त बजेट छुट्याएपछि मात्र सरकार अब ठेक्का प्रक्रियामा जाने बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बुधवार भएको भेटमा अर्थमन्त्री डा.खतिवडाले पर्याप्त बजेट नछुट्याएर ठेक्का प्रक्रियामा जाँदा धेरै समस्या देखा परेको स्मरण गरे । साथै मन्त्री खतिवडाले निर्माण व्यवसायीका रोकिएको भुक्तानी छिट्टै उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरे।
ठूला उपकरण किन्नका लागि सरकारले व्यवसायीलाई सहुलियतको व्यवस्था पनि मिलाउने मन्त्री खतिवडाले बताए । भेटमा महासंघ प्रतिनिधिमण्डलले व्यवसायीका समस्या र समाधानका उपायका बारेमा मन्त्री खतिवडालाई जानकारी गराएका थिए ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा.खतिवडा समक्ष व्यवसायीहरुलाई पेशाबाट नै पलायन गर्ने गरी जारी भएको मुलुकी अपराध (संहिता) ऐनप्रति कडा विमति जनाएको थियाे ।
महासंघले निर्माण कार्य संग सम्बन्धित् निर्माण सामाग्री उत्पादकहरु, ठेक्कासंग सम्बन्धित परामर्शदाताहरु, ठेक्का प्रदान गर्ने निकायहरु तथा सम्बन्धित सबै पक्ष जिम्मेवार हुनु पर्ने तथा गराउन पर्नेमा निर्माण व्यवसायीलाई मात्र दोष थोपर्ने गरी मुलुकी ऐनमा गरिएको कानूनस् व्यवस्था यथासिघ्र खारेज गर्न जोडदार माग गरेको छ ।
गल्ती गरेको खण्डमा व्यवसायीलाई कार्वाहीको दायरामा ल्याउन विगतका ऐन कानून नै पर्याप्त रहेको महासंघको भनाइ छ । महासंघले हाल समयमा निर्माण कार्य सम्पन्न नहुनुको मुख्य कारण निर्माण व्यवसायीले आफ्नो क्षमता भन्दा बढी काम लिनु हो भन्दै निर्माण व्यवसायीको क्षमता अनुसार मात्र काम उपलब्ध गराउनका लागि मन्त्री खतिवडा समक्ष अनुरोध गरेको छ ।