हेटौँडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्न तथा त्यसको क्षमता बढाउन प्रक्रिया अगाडि बढाइएको छ।
लामो समयसम्म मर्मत एवं जीर्णाेद्धार नगरेपछि उद्योगका उपकरण पुराना हुनाका साथै उत्पादन क्षमतामा कमी आएको छ। हेटौँडा उपमहानगरपालिका–९ मा सञ्चालित सो उद्योगको स्तरोन्नति गरी क्षमता तथा उत्पादनमा विस्तार गर्न लागिएको महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए। 'निजी क्षेत्रसँग प्रतिस्पर्धा गराउन र उद्योगको क्षमता सुधार गर्न एक अर्ब रूपैयाँ लाग्छ, रकम जुटाउन पहल भइरहेको छ,'उनले भने।
उद्योगले समयको मागअनुसार उत्पादनमा वृद्धि, मूल्य घटाउने तथा प्रविधियुक्त उपकरण जडान गर्न लागेको सिंहले बताए। विसं २०४२ मा जडान गरेका उपकरणबाट उत्पादन घट्दै गएको उद्योगका कर्मचारीले बताएका छन्।
हाल सो उद्योगले दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको छ। उद्योगको मर्मतपछि दैनिक दुई हजार टनसम्म सिमेन्ट उत्पादन गर्न सकिने छ। सो उद्योग दुई वर्षयता मुनाफामा छ।