तिहार पर्व नजिकिएसँगै बाँकेका स्थानीय बजारभन्दा नेपाली ग्राहकहरुको भिडभाड सिमापारीको भारतीय बजार रुपैडिहामा लागेको छ।
तिहारलाई आवश्यक पर्ने विभिन्न साम्रगीहरु किन्न नेपालीहरु स्थानीय बजार छोडेर सिमापारीको भारतीय बजार रुपैडिहामा गइरहेका छन्।सिमापारीको बजारमा मानिसहरुको भिडभाड थेगी नसक्नु छ भने सिमावारीको नेपाली बजार सुनसान छ। सीमापारि भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको बाक्लो उपस्थितिले नेपालगन्ज, कोहलपुर, खजुराका व्यापारीलाई वर्षौंदेखि पिरोल्दै आएको छ।
तिहारको किनमेल गर्न भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारीहरु चिन्तित छन्। सस्तो पाइने लोभमा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहाप्रति आकर्षित भएका बताइन्छ। सिमापारीबाट सिमावारी सामान आउने प्रक्रिया कडा नभएकाले अहिले नेपाली व्यवसायीहरुलाई दशै तिहार नलागेको नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताए।
सिमापारीका नेपाली व्यवसायीहरु ठूला चाडपर्वमा झिगा धपाएर बस्ने र सिमापारीमा नेपाली उपभोक्ताको भिडभाड लाग्ने गरेको उनी बताउछन्। आजभोली सिमापारीको भारतीय बजार रुपैडिहामा किनमेल गर्न गएका नेपाली उपभोक्ताको भिडभाड देख्न सकिन्छ। दशैं तिहारमा मात्रै होइन यहाँका स्थानीय बासिन्दा किनमेलका लागि सधैंभरी रुपैडिहा जाने गर्छन्।
रुपैडिहाका कपडा, किराना, कष्मेटिक, खाद्यान्न लगायतका पसलमा यतीबेला नेपाली ग्राहकहरुले ठेलमठेल छ। बाँके सहित बर्दिया, दाङ, सल्यान, सुर्खेत, जाजरकोट लगायतका जिल्लाबाट समेत किनमेल गर्न भारतीय बजार रुपैडिहा नेपाली उपभोक्ताहरु पुग्ने गर्दछन्।
दशै तिहारमा भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताले प्रत्येक दिन करीब पाँच करोड रुपैया मूल्य बराबरको घरायसी सामान खरिद गर्ने गरेका छन्। अहिले दैनिक करोडौं नेपाली मुद्रा भारतीय बजारमा गइरहेको छ भने, अर्कोतर्फ नेपाली व्यवासायी सुक्दै जान थालेका छन्। सरकारी निकायको उदासीनताका कारण नेपालगञ्जमा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष अब्दुलवाहिद मन्सुरी बताउछन्।
नेपालगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका मन्सुरीले सरकारी निकायको उदासीनताका एकातर्फ व्यवसायीलाई र अर्कोतर्फ सरकारलाई करोडौं राजस्व घाटा लागेको बताए। नेपाली उपभोक्ताको सस्तोमा सामानहरु पाइने गलत बुझाइलाई चिर्न नसक्दा उपभोक्ताको रुपैडिहा मोह रोक्न नसकिएको नेपाली व्यवसायीहरु बताउँछन्।