लोडसेडिङमुक्त तिहार मनाउन लागिएको तीन वर्ष भएको छ। नेपाल विद्युत् प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो।
त्यसरी गरिएको परीक्षण सफल भएपछि लोडसेडिङको मार खेप्नु नपरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताए। ‘लोडसेडिङ अन्त्य भएको योसमेत गरेर तीन तिहार हुन्छ,’ उनले सोमबार नागरिकसँग भने, ‘त्यसअघि दैनिक १२–१३ घन्टा लोडसेडिङ हुने गरेको थियो।’
कसरी लोडसेडिङमुक्त बनाउन सफल हुनुभयो भन्ने प्रश्नमा कार्यकारी निर्देशक घिसिङले भने, ‘कुशल व्यवस्थापनबाट नै यो सफल भएको हो।’ प्राधिकरणले मुख्यतया चार पक्षलाई बढी जोड दिएका कारण लोडसेडिङमुक्त गर्न सफल भएको घिसिङले बताए। ‘व्यवस्थापन उचित तवरले (सञ्चालन, प्राविधिक, माग पक्ष र टिक वर्क) मिलाउन सकिएका कारण लोडसेडिङ हुनबाट बचाउन सकिएको हो,’ घिसिङले भने, ‘चारवटै पक्षलाई एकैसाथ अगाडि बढाउन नसकिएको भए लोडसेडिङ हटाउन सम्भव थिएन।’ नागरकि दैनिकमा खबर छ।