विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके त्यहाँ जत्तिकै आम्दानी गर्न सकिने सोचका साथ तनहुँको भीमाद नगरपालिका–५ बुडुफाँटका कृष्णप्रसाद गैरे पाँच वर्ष अगाडि नेपाल फर्किए।
छ वर्ष नौ महीना कतार बसेका गैरे विसं २०७० मा स्वदेश फर्किएर व्यावसायिक कृषि र पशुपालनमा आबद्ध भएका छन्। गैरेले तरकारीखेती र पशुपालनबाट वार्षिक सात लाखभन्दा बढी आम्दानी गर्दै अाएका छन्।
‘विदेशमा काम गर्दा जति दुःख गरियो त्यति दुःख त स्वदेशमै गरेपनि आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो,’ उनले भने, ‘अनि आफ्नै गाउँ आएर तरकारीखेती शुरु गरेँ ।’ तरकारीखेतीबाटै गैरेले वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्।
तरकारीखेतीसँगै पशुपालनसमेत गरेका भैँसीको दूध बिक्रीबाट वार्षिक दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताउँछन्। उनका अनुसार दैनिक २० माना दूध बिक्री हुने गरेको छ। तरकारी र दूध बिक्रीका लागि बजारको कुनै समस्या नरहेको उनले बताए। रासस