दाङ–काठमाडौं हवाई सेवा अब सातामा तीन दिन हुने भएको छ। सोमबार र शुक्रवार नियमित उडान हुँदै आएकोमा मंसिर १ गतेदेखि लागू हुने गरी बुधबारसमेत थप गरेर अब सातामा तीन दिन उडान हुन लागेको नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए।
‘यात्रुको माग भए वमोजिम हामीले तुलसीपुर उपमहानगरपालिकासँग सहकार्य गरेर उडान थप गरेका हौं,’ प्रवक्ता सिग्देलले भने। मंसिर महिनाभरमा यात्रुको चाप र माग भए पुस महिनाबाट दैनिक हवाई सेवा सञ्चालनका लागि निगमले तयारी गरिरहेको पनि नेपाल वायुसेवा निगमका कमर्सियल विभाग प्रमुख टंकनिधि दाहालले जानकारी दिए। ‘हामीले दैनिक उडान हुँदा यात्रु संख्या पुग्ने अवस्था हुने भयो भने नियमित उडान गर्नेछौं,’ दाहालले बताए।
तुलसीपुरमा नै यात्रुको संख्या पुरा भएपछि नेपाल एयरलाइन्सले अहिले तुलसीपुर काठमाडौं सिधा हवाइ सेवा सञ्चालन गरिरहेको छ। ‘इन्धन समस्याका कारण विमानको क्षमता अनुसार यात्रु वोक्न नसकिए पनि एक दुई जना कम गरेर धेरै जसो डाइरेक्ट उडान गरिरहेका छौं,’ क्याप्टेन उद्धव घिमिरेले भने।
हवाइ सेवा नियमित भए यात्रुको संख्यामा कमी नआउने तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालले बताए। ‘नेपालगञ्ज र भैरहवा जानेको अनुपात हेर्ने हो भने दैनिक दुईवटा पनि उडान भर्न सकिन्छ,’ रिजालले भने।
टर्मिनल भवन बन्ने
तुलसीपुर विमानस्थल सञ्चालनसँगै यात्रु सुविधाका लागि सुविधा सम्पन्न टर्मिनल भवन बन्ने भएको छ। भवन निर्माणका लागि केन्द्रबाट बजेट विनियोजन भइसकेको र तत्काल निर्माण प्रक्रिया अगाडि बढाइने तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बताए।
‘टर्मिनल भवनका लागि सरकारले बजेट विनियोजन गर्नुले पनि विमान सेवा नियमित हुने अपेक्षा गर्न सकिन्छ,’ पाण्डेले बताए। उनले अस्थायी इन्धन डिपोको लागि सरकारले निर्णय गरिसकेको जानकारी दिँदै अन्य प्रक्रियासमेत अगाडि बढिसकेको बताए।