बुद्धको जन्मस्थल लुम्बिनी रहेको प्रदेश नम्बर ५ को विकासमा लगानी गर्न चिनियाँ लगानीकर्ता तयार देखिएका छन् । मुलुक संघीय संरचनामा नजाँदै यहाँका केही उद्योगमा लगानी गरेको चीनले अब त्यसलाई बृद्धि गर्ने योजना बनाएको हो ।
लुम्बिनी विश्वकै मुख्य पर्यटकीय गन्तब्य बन्ने भन्दै चिनियाँ लगानीकर्ता र चीन सरकार लुम्बिनी क्षेत्रमा लगानीको वातावरण बनाउन लागि परेको हो । पछिल्ला तीन दुई महिनायता चीनको भिन्दाभिन्दै टोलीले प्रदेश सरकारसँग छलफल गर्दै लगानी गर्न इच्छुक रहेको बताएका हुन् ।
गत महिनामात्रै चीनको रेलवे विभागले लुम्बिनीमा मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको थियो । यो प्रक्रिया जारी रहेका बेला नेपालका लागि चिनियाँ राजदूत यु होङ्गले मुख्यमन्त्री शंकर पोखरेललाई भेट्दै लुम्बिनीको विकाससँगै समग्र विकासका लागि चीन सरकार सहकार्य गर्न तयार रहेको बताएकी छन् ।
चीनले कृषिको विकासका लागि पनि सहकार्य गर्न तयार रहेको राजदूत होङ्गले बताएकी छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार चीनले प्रदेश सरकारसँग विकासको अनुभव साटासाट र विकासमा सहकार्य गर्न सकिने बताएकी छन् । अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ।